मतदान केन्द्र हिँडे कर्मचारी

Jagaran Post २६ बैशाख २०७९, सोमबार ११:४५

बाजुरा — मतदान अधिकृत नन्दकृष्ण उपाध्यायको टोली आइतबार सदरमुकाम मार्तडीबाट आफू खटिएको मतदान केन्द्र हिमाली गाउँपालिका १ गुम्बातर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा टाढा रहेको गुम्बास्थित हिमालभक्ति आधारभूत विद्यालयमा मतदान केन्द्र छ । ६० मतदाता रहेको उक्त मतदान केन्द्रमा पुग्न सदरमुकामबाट तीन दिन लाग्छ ।

आउँदो शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारी खटाइसकेका छन् । उनीहरूले आइतबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयबाट सामग्री र कागजात बुझेर मतदान केन्द्रतर्फ प्रस्थान गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख नवराज अवस्थीले बताए । उनीहरूले नियुक्ति पत्र, मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयबाट मतपेटिका र मतदानलाई चाहिने सामग्री बुझेका हुन् ।

आसन्न स्थानीय निर्वाचनका लागि बाजुरामा ५ सय ५८ कर्मचारी खटाइएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तीमध्ये एक सय १२ मतदान अधिकृत, एक सय १२ सहायक मतदान अधिकृत र अन्य सहायक कर्मचारी छन् । जिल्लाभर दुई मतदान अधिकृत महिला रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अवस्थीले बताए । यो जिल्लाका ९ स्थानीय तहमा १ सय १२ मतदान केन्द्र र ७० वटा मतदान स्थल छन् । जिल्लामा ८२ हजार ६ सय ९० मतदाता छन् । कुल मतदातामध्ये ४२ हजार १ सय ५१ पुरुष र ४० हजार ५ सय ३७ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा निकायले मतदानस्थलको सुरक्षाका लागि सतर्कताका साथ व्यवस्थित रणनीति बनाएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताए । सुरक्षाका दृष्टिले जोखिमको मूल्यांकन गरी निर्धारित ७० मतदानस्थलमध्ये ३८ मतदानस्तललाई अति संवेदनशीलको सूचीमा राखेर विशेष सुरक्षा योजना बनाइएको प्रजिअ पौडेलले बताए । २५ संवेदनशील र ७ सामान्य मतदान स्थलको सूचीमा राखिएको उनको भनाइ छ ।

४ जनप्रतिनिधि निर्विरोध

बाजुराबाट विभिन्न स्थानीय तहमा दलित महिला सदस्य कोटामा उम्मेदवार बनेका चार जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध हुनेमध्ये बूढीनन्दा नगरपालिका–४ मा दलित महिला सदस्य कोटामा एमालेबाट उम्मेदवार रहेकी बसन्ती चँदारा, सोही नगरपालिका १० मा एमालेकै उम्मेदवार टुमरा दमाई, त्रिवेणी नगरपालिका–७ मा कांग्रेसबाट औलादेवी लुहार र हिमाली गाउँपालिका–१ मा माओवादी केन्द्रकी उम्मेदवार रूपसरी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

समग्र सुदूरपश्चिम प्रदेशबाट भने १५ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न जिल्ला र स्थानीय तहमा दलित महिला र महिला सदस्यहरू गरी १५ जना निर्विरोध भएका हुन् । १२ दलित महिला सदस्य तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् । निर्विरोध भएकाहरूमा एमालेका ७, कांग्रेसका ४, माओवादी केन्द्रका २, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक/एक जना निर्विरोधभएका हुन् ।

बझाङको साइपाल गाउँपालिका–१ मा कांग्रेसकी सुरती कामी, वडा नम्बर ४ मा कांग्रेसकै अम्रिता कामी, केदारस्युँ गाउँपालिका–४ मा दलित महिला सदस्य कोटामा स्वतन्त्र उम्मेदवारी दिएकी कन्थरीदेवी ओखेडा, केदारस्युँ ७ की माओवादी केन्द्रबाट दलित महिला सदस्यकी उम्मेदवार रम्भुदेवी कामी निर्विरोधनिर्वाचित भए ।

यस्तै जयपृथ्वी नगरपालिका–४ मा कांग्रेसबाट दलित महिला सदस्य पुतलीदेवी कामी र वडा नम्बर ७ की दलित महिला सदस्य एमालेकी सन्तोला चुनारा निर्विरोध भए । त्यस्तै, थलारा गाउँपालिका–६ मा एकीकृत समाजवादीबाट महिला सदस्यको कोटाकी उम्मेदवार ३४ वर्षीया सुनीतादेवी गिरी, वडा नम्बर ८ मा एमालेबाट जमुनादेवी खड्का, मस्टा गाउँपालिका–७ मा एमालेबाट दलित महिला सदस्या कोटामा उम्मेदवार हिमकला दमाई निर्विरोध भएका छन् । दार्चुलामा पनि निर्विरोध निर्वाचित भएका छन् । अपिहिमाल गाउँपालिका–३ मा एमालेबाट दलित महिला सदस्य उम्मेदवार शोभा टमटा, मार्मा गाउँपालिका–५ मा एमालेबाटै महिला सदस्य कमला महता पनि निर्विरोध निर्वाचित भएका छन् ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६