काठमाडौं : मितिनी नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०२२ मनाउने भएको छ।
मितिनी नेपालले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार काठमाडौंमा दिवस मनाउन लागेको जनाएको हो। मंगलबार कार्यक्रमको उद्घाटन उपराष्ट्रपती नन्दबहादुर पुनले गर्ने कार्यक्रम तय भएको छ। सो अवसरमा सांस्कृतीक प्रस्तुतीसहित विविध विषयमा छलफल हुने मितिनी नेपालका कार्यक्रम अधिकृत विमला गुरुङले जानकारी दिइन्।
‘हाम्रो शरीर, हाम्रो जीवन, हाम्रो अधिकार’ भन्ने विश्वव्यापी नाराका साथ होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२२ मनाइन लागेको सो संस्थाले जानकारी दिएको छ।
होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तराष्ट्रिय दिवस हरेक वर्षको मे १७ मा विश्वव्यापी रुपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्दछन्।
सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै विश्वव्यापी रुपमा होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिन मनाईन्छ। संस्थाका अध्यक्ष लक्ष्मी घलानले यस दिनलाई संसारभर यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै हर्षोल्लासका साथ मनाउने बताए।
फरक यौनिकता र लैंगिकताकै कारण यो समुदायले भोग्दै आइरहेको असमानता, हिंसा, चुनौती, कष्टकर भोगाई र कठिन परिस्थितिहरुप्रति सरोकारवालालाई ध्यानाकर्षण गराउन यो दिवसले भूमिका खेल्ने अपेक्षा लिइएको छ। कार्यक्रममा मितीनी नेपालका कार्यकारी निर्देशक सरीता केसीले कार्यक्रमको उद्देश्यवारे प्रकाश पारेकी थिइन्।