काठमाडाैँ- सर्लाहीको रामनगर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका २२ वर्षीय राजाबाबु यादव निर्वाचित भएका छन्।
उनी सर्लाहीमा सबैभन्दा कम उमेरमा पालिका प्रमुख बन्न सफल भएका गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव तिमिल्सिनाले देश सञ्चारलाई जानकारी दिए।
तिमिल्सिनाका अनुसार राजाबाबुले आफ्नै काकालाई फराकिलो मतान्तरले जितेका हुन्।
यादव अध्यक्षमा ४ हजार ८१ मत ल्याएर विजयी भए। उनले नेपाली कांग्रेसका हरिनन्दनप्रसाद यादवलाई १ हजार ६ सय ८९ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। हरिनन्दनले २ हजार ३ सय ९२ मत ल्याएका थिए।
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजाबाबु संविधानसभा सदस्य शिवपुजन राय यादवका छोरा हुन्।
काठमाडौंमा बिबिएस पढिरहेका उनलाई बुबाले गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिन लगाएका थिए।
यस्तै, गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकै गीता देवीले ३ हजार ५ सय २३ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी कोशिला साहले २ हजार ६ सय ३७ मत प्राप्त गरिन्।
यसअघिका गाउँपालिका अध्यक्ष कांग्रेसका कृष्णप्रसाद वर्माको गत असार २० मा निधन भएको थियो।