नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार जीतबहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई उम्मेदवार बनेका थिए ।
थेबेले ५१५३ मत प्राप्त गर्दा राईले ४९१३ मत पाएका छन् । राई ०७४ को स्थानीय चुनावमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजनपछि उनी नेकपा एसमा लागेका थिए ।
उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी प्रविना राई निर्वाचित भएकी छन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् ।
राईले ५१५९ मत पाउँदा भट्टराईले भने ४८८३ मत पाएकी छन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।