गुल्मी – गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । गत वर्ष दुई हजार ४ सय ४८ मेट्रिक टन उत्पादन भएको सुन्तला यस वर्ष भने ३ सय मेटि्रक टनले बढेर दुई हजार ७ सय मेट्रिकटन पुगेको जिल्ला कृषि विकाश कार्यालय गुल्मीले जनाएको छ ।
अन्य खेतीको तुलनामा सुन्तलाखेतीबाट बढी आम्दानी भएपछि किसानहरू व्यावसायिक रूपमै सुन्तलाखेतीमा लागेकाले यस वर्ष उत्पादन वढेको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत मणिरत्न अर्यालले जानकारी दिनुभयो ।
यस वर्ष सुन्तला कारोवार नौ करोड रुपैयाँ पुग्ने कृषि विकास कार्यालयको भनाइ छ । लागि सहज बजार र कम मेहनतमा आम्दानी बढी हुन थालेपछि किसानहरू अन्य खेती छोडेर सुन्तला उत्पादनमा लागेको कृषि र्कायालयले जनाएको छ । गुल्मीको पिपलधारा, अर्खले, हाडहाडे, भनभने, नयाँगाउँ, दिगाम, अर्लाङ्गकोट, पुर्कोट, बस्तु, जैसीथोक लगायतका गाविसमा व्यवसायिक सुन्तला खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।
स्याङ्जामा ४७ करोडको उत्पादन
स्याङ्जामा यस वर्ष ४७ करोड रुपैयाँका सुन्तला उत्पादन भएको छ । सुन्तलाखेती गर्न उपयुक्त हावापानी भएको स्याङ्जामा गत वर्षको तुलनामा दोब्बर सुन्तला उत्पादन भएको हो । यसवर्ष सुन्तलाले नयाँ रेकर्ड कायम राखेको किसान बताउँछन् ।
कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँका सुन्तला फलेको थियो । सुन्तलाका लागि प्रतिकूल मौसमका कारण गतवर्ष सुन्तला उत्पादनमा निकै कमी भयो । फूल खेल्ने समयमदेखि फलटिप्ने समयसम्म तीन पटक असिना पानीका कारण गतवर्ष सुन्तला उत्पादन न्यून बनेको हो । गतवर्ष सुन्तलाबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो भने झण्डै १२ करोडभन्दा बढीको क्षति पुगेको थियो । गतवर्षको तुलनामा यसवर्ष ५३ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रका प्रमुख लोकेन्द्र बोहराले जानकारी दिए ।
अर्जुनचौपारी गाउँपालिकाका सुन्तला किसान फणिनारायण अर्यालले यसवर्ष ३० लाखको सुन्तला बिक्री गरेको बताए । यसैगरी, पुतलीबजार नगरपालिकाका मुक्तिप्रसाद अधिकारी र कृष्ण अर्यालले २०/२० लाख, बोधराज अर्यालले १७ लाख, रामकाजी रानाले १० लाख, भीरकोट नगरपालिकाका शालिकराम अर्यालले १७ लाख, तीरमाया गुरुङ र केशव गुरुङले १०/१० लाख, मिनप्रसाद कोइराला र गिरीधारी कोइरालाले १३ लाख , विष्णु कोइरालाले ८ लाख, वालिङ नगरपालिकाका खेमराज गुरुङले १२ लाख रुपैंयाँ आम्दानी गरेको जनाएका छन् । उनीहरु जस्ता धेरै किसानहरु जसले वर्षमा सुन्तलाबाटै लाखौं रुपैंया कमाएका छन् । पुतलीबजार नगरपालिका १० वडाबाट मात्र झण्डै १० करोड मूल्य भन्दा बढी सुन्तला उत्पादन भएको सुन्तला किसान मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।