राजा ज्ञानेन्द्र र गिरिजाबाबुबीचका ऐतिहासिक वार्ता

Jagaran Post २० जेष्ठ २०७९, शुक्रबार १३:३३
chandramani gautam
        चन्द्रमणि गौतम                  बरिष्ठ पत्रकार  एवं             राजनैतिक विश्लेषक
(राजा ज्ञानेन्द्र पनि चलाखी गर्नमा माहिर ! )
निकै मिहिनेतका साथ बटुलिएको फरक समय र सन्दर्भका यी वार्ताहरू तत्कालीन राष्ट्रिय राजनीतिलाई चिहाउन सहायक हुनेछन।
स्थान : वीरेन्द्र सैनिक अस्पताल, छाउनी । दिन : २०५८ साल जेठ २१ गते आइतबार । समय : अपरान्ह अन्दाजी ४ बजे ।
बादल लागेको मौसम तर पानी नपरिहाल्ला भन्न सकिने अवस्थामा छ ।
तत्कालीन अधिराजकुमार (राज्य सहायक) ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सैनिक अस्पतालको प्राङ्गणमा लगाइएको सामियाना नजिक उभिएका छन् । सामियानामा यतिखेर कोही छैन ।
सैनिक सुरक्षा अत्यन्त कडा बनाइएको छ । दरबारका सचिब, एडीसी र अन्य स्टाफ अलि पर स्ट्याण्डबाई छन् । प्रधानमन्त्री भर्खर गाडीबाट ओर्लिएर सिधै अधिराजकुमार ज्ञानेन्द्र छेउ पुगेका हुन् । अधिराजकुमार शोकमग्न, तनाबग्रस्त र केही हडबडाएको देखिन्छन्। उल्लेखित वार्तामा ‘ज्ञ’ ले ज्ञानेन्दलाई र ‘ग’ ले गिरिजालाई बुझाउँछ :
ज्ञ : मूमाज्युबाट ममाथि एन्थ्रोन (राज्यारोहण) हुनैपर्ने जोड गरिबक्सँदै छ, प्रधानमन्त्रीजी, तर मलाई एन्थ्रोनमेन्टमा कुनै मन छैन। बेटर के गर्न सकिएला ?
: सरकारबाट राज्यारोहण नगर्ने हो भने कसले गर्छ त ? राजपरम्परामा त्यस्तो कुनै विकल्प छ र ? म के पनि सुन्दैछु भने सरकारले राज्यारोहण नगर्ने हो भने मुमाबडामहारानी (रत्न) बाट म पनि प्वाइजन खाइदिन्छु भन्ने कुरा भो रे !
ज्ञ. त्यसलाई (विष खाने कुरालाई) बाहिर नल्याउँ । मलाई त लाग्दैछ दाजु (राजा वीरेन्द्र) लाई दागबत्ती दिनेलाई श्रीपेच लगाइदिऊँ ।
: त्यसो होइन सरकार, राज्यारोहण गर्ने सरकारबाटै हो । मोनार्की पनि रहेन भने मोनार्की उखेलिएको डोबमा भरिन आउने तत्व खतरनाक हुन्छ, म भन्छु कुनै हालतमा त्यो डेमोक्रेट् हुनेछैन । मलाई कसैले भनेको त छैन, तर म अनुभूति गर्दैछु, यो हत्याकाण्डमा कसैको अल्टेरियर मोटिभ (भित्री स्वार्थ) ले ग्रान्ड डिजाईनका साथ खेलिरहेको छ । याँ कसको के इन्ट्रेस्ट छ, त्यसको अनुभव पनि मलाई छ । त्यसलाई ख्याल गरेर पनि सरकारबाट राज्यारोहण गर्नुपर्ने जिम्मेवारी छ । मैले र राजपरिषदले के गर्नुपर्छ थाहा पाउँ, सबै म मिलाउँछु ।
——————————————————————————————————————-
स्थान : निर्मल निवास, महाराजगञ्ज । राजा ज्ञानेन्द्र नारायणहिटी राजदरबारमा बस्न थालेका छैनन् । दिन : २०५८ साल असार २९ गते शुक्रबार । समय : अपरान्ह अन्दाजी २ बजे ।
रोल्पाको होलेरी इलाका प्रहरी कार्यालयका ७२ जना प्रहरीको अपहरण गर्ने माओवादीका विरूद्ध परिचालन गरिएको शाही नेपाली सेना परिचालन त भयो तर त्यसले माओवादीविरूद्ध कुनै सैनिक अपरेशन गरेन ।
यही विषयलाई लिएर राजा ज्ञानेन्द्र र प्रधानमन्त्री गिरिजाका वीच कुराकानी भइरहेको छ । प्रधानमन्त्री कोइराला आज निकै मुडअफ देखिन्छन् ।
ज्ञ : प्रधानमन्त्रीलाई स्वागत छ, बस्नुहोस् ।….होलेरीमा भइरहेको काम कसरी गइरहेको छ ?
: आर्मीले गभर्न्मेन्टको आदेश पालन गरेको छैन सरकार । (प्रधानसेनापति) (प्रज्वल्ल शम्शेर) को गतिविधिबाट म सन्तुष्ट छैन, के गर्न खोजेको हो उनले, मलाई त शङ्का बढ्दैछ। कसैको केही आसय पाएर यसो गरेको हो कि जस्तो लाग्दैछ । यताबाट बेग्लै आदेश त गएको छैन आर्मीलाई ? म कन्फ्युज्ड् भएँ सरकार !
ज्ञ : प्रधानमन्त्री किन कन्फ्युज्ड् हुने ? क्याबिनेटलाई बाइपास गरेर हामीले यताबाट अलग्गै आदेश दिन मिल्दैन । प्रज्वल (प्रधानसेनापति) को बानी नै त्यस्तै छ । होलेरीमा क्याबिनेटले आर्मीलाई के जिम्मेवारी दिएको हो ?
: त्यहाँ यतिखेर माओवादीका सबै टप लिडर पुगेका छन् । उनीहरूले होलेरी थाना (इप्रका) कब्जा गर्न देशभरि उनीहरूसँग भएभरका कमाण्डो टाइपका सार्पसुटर लडाकुहरूलाई पनि बटुलेर पुर्याएका छन् । एयर स्ट्राइक (हेलिकोप्टरबाट बमबारी) गरेदेखि माओवादीको फिप्टी पर्सेन्ट स्ट्रेन्थ त्यहीँ समाप्त हुन्छ । सबैजसो टप लिडर हताहत हुन्छन् । क्याबिनेटले आर्मीलाई सम्पूर्ण जिम्मेवारी पूरा गरोस भनेर मार्च गराएको हो, उनीहरूलाई त होलेरीमा माओवादीको रमिता हेरेर पिकनिक मनाउन पठाएजस्तो पो भयो ।
ज्ञ : प्रज्वल (प्रधानसेनापति) ले त्यहाँ के गर्न खोज्दैछ, त्यसको जानकारी मकहाँ आइपुगेको छैन । म पनि बुझुँला । प्रधानमन्त्रीकै कुरालाई आधार मानेर हेर्दा म केही कठिनाइ देखिरहेको छु । एउटा त, आन्तरिक गडबडी दबाउन एयर स्ट्राइक गर्ने कुरा सुरक्षा कारवाहीको रूपमा भन्दा पनि ब्रुटल र मानब अधिकारको हनन् भएको भनेर विश्वभरि प्रचार हुनेछ, अनि भएभरका सबै हामीतिर खनिन्छन् । अर्को कुरा, राजनीतिक दलका नेताहरूमा यो (माओवादी) समस्याबारे एउटै भनाइ देखिन्न । कोही राजनीतिक समस्या हो राजनीतिक रुपबाट समाधान गर्नुपर्छ भन्छन् कोही आर्मी लगाएर ठीक गर्नुपर्छ भन्छन् । प्रज्वलले भन्थे आर्मी परिचालन गर्ने भए सर्वदलीय सहमती हुनुपर्छ, त्यसो भएको छैन । अर्को कुरा सैनिक ऐनमा समस्या रहेछ । ४० वर्षभन्दा अघिका दुईटा ऐन रहेछन्, त्यसले पुग्दैन भन्छन् आर्मीका मान्छे (जनरल) हरू । अर्को कुरा मेरो पर्सनल हो भनेर लिइदिनुस् कि हामीकहाँ यत्रो कार्नेज (नरसंहार) भयो हामीकहाँ (दरबार हत्याकाण्ड) । म अझै त्यसको शोकबाट मुक्त भएको छैन । त्यत्रो घटना भएको एक महिना नबित्दै जनतालाई मार्ने काममा लागौँ, मलाई त कसोकसो गाह्रो लागिरहेको छ । तर यो मेरो नितान्त पर्सनल र पारिवारिक पीडाको कुरा प्रधानमन्त्रीसँग शेयर गरेको मात्र हो । जे गर्ने हो त्यो त तपाईँहरूले नै गर्ने हो ।
: ए, भनेपछि आर्मी परिचालन हुन नसक्ने यतिका कारण रहेछन् । मेरा पार्टीका साथीहरूले मलाई भनेका थिए, माओवादीहरू निर्मल निवासलाई परमधाम मान्छन् । कुरा यसो हो भने ठीकै छ ।
ज्ञ : (अलिक उत्तेजित हुँदै) कसले के सुनाए, कसले कहाँ परमधाम देख्यो, त्यसको सत्य पत्ता लागोस्, हामी यहीँ छौँ । सत्यको दर्शन गर्न हामी पनि लालायित छौँ । प्रधानमन्त्रीलाई पनि बाहिर ‘करप्ट’ (भ्रष्ट) भने अरे !
: सुनेकै कुरा गर्न थाल्ने हो भने त सरकारलाई पनि दरबार हत्याकाण्डको सूत्रधार भन्छन्, त्यसैका पछि लाग्ने ?
ज्ञ : भयोभयो, यस्ता गसिप (हल्ला) मा नजाऔँ । अब के गर्नुहुन्छ ? पार्लियामेन्ट चलिरहेको छ, त्यहाँ पनि छलफल चलाउन सकिन्छ होला । चिफ (प्रधानसेनापति) लाई आदेशमा कानुनी स्पष्टता पुगेन कि ? त्यो सुल्झाउन लाग्नु उचित हुन्छ होला । मलाई त लाग्छ, कुनै समस्या भए चलिरहेको पार्लियामेण्टमा छलफल गराएर त्यसको डिसिजन लिँदा बढी इफेक्टिभ होला । डेमोक्रेटिक पनि त्यही हुन्छ ।
: म अब यस्ता ह्यानत्यानमा लाग्नेछैन । यहाँ म ग्राण्ड डिजाइन भइरहेको देख्दैछु । त्यसैले मैले त रिजिग्नेशन दिने मन बनाएर आएको छु । धोका हुन्छ भने म किन जोकर बनेर बसिरहुँ !
ज्ञ : अब त्यो त प्रधानमन्त्रीले नै डिसाइड गर्ने कुरा भयो । रिजिग्नेशन दिने निष्कर्ष लिएर आउनुभएको हो भने दिनुहोस् ।
प्रधानमन्त्री कोइरालाले त्यहीँ राजिनामा लेखेर दिए । राजा ज्ञानेन्द्र बाट स्वीकृत भयो ।
——————————————————————————————————————
नेपाली काँग्रेस फुटेर दुईफ्याक भएको अवस्था छ । पार्टीको संख्याबल दुवैतिर हाराहारीमा रहेको र दुबैपक्षले चुनाबचिन्ह (रुख) आफूले पाउनुपर्ने दाबी गरिरहेको बेला छ । गिरिजाप्रसाद कोइराला सरकारको नेतृत्वमा छैनन् । शेरबहादुर देउवा प्रधानमन्त्री छन् । भेटवार्ता नारायणहिटी राजदरबारमा भइरहेको छ ।
: आज म एकदुईवटा इम्पोर्टेन्ट कुरा लिएर आएको छु सरकार, मैले यो भेटवार्ताबाट एउटा डिसिजन लिएरै जानु पनि छ ।
ज्ञ : के होला त्यस्तो, गो अन प्लिज ।
: पहिलो त निर्वाचन आयोगले कसको इसारामा हो, नेपाली काँग्रेसको चुनाब चिन्ह हामीलाई दिएको छैन । त्यो राजभण्डारी (प्रमुख निर्वाचनआयुक्त केशबराज राजभण्डारी) बदमास रहेछ । समस्यालाई टाँगेर राखेर रमिता हेरिरहेको छ । मलाई अरू कुरा थाहा छैन, चुनाब चिन्ह मैले नेतृत्व गरेको नेपाली काँग्रेसले नै यथाबत पाउनुपर्छ । दोस्रो कुरा पार्टीले कारवाही गरेको यो प्रधानमन्त्रीलाई हटाइबक्सियोस् । यी दुई काम भए भने सरकारका हर कदममा नेपाली काँग्रेसले समर्थन गर्नेछ, म भएँ ।
ज्ञ : गिरिजाबाबु, मेरो एउटा प्रोब्लेम छ । नेताहरू मसँगको भेटमा कुरा गर्दा असल कुरा गर्नुहुन्छ । तर बाहिर गएर उहाँहरू ठीक उल्टो कुरा गरेको म पाउँछु । त्यसैले म आजकाल वार्ता रेकर्ड गरेर राख्न थालेको छु । यो वार्ता पनि रेकर्ड गर्छु है !
: हुन्छहुन्छ, यसमा मलाई के आपत्ती छ र ! नो प्रोब्लेम ।
ज्ञ : डेमोक्रेटिक फोर्स कमजोर हुनजाँदा शक्ति सन्तुलन खल्बलिन्छ । विदेशीहरू बड्ता जान्ने हुन थाल्छन् । त्यसैले गिरिजाबाबु मलाई तपाईँहरूको पार्टीमा विभाजन आएको ठीक लागेको छैन । डेमोक्रेटिक फोर्स विभाजित हुनु भएन ।
: सरकारबाट कुरा त सुन्दर गरिबक्सियो । सत्य भए झन् कति राम्रो हुन्थ्यो । तर पार्टीले कारवाही गरेको र पार्टी फुटाएको मानिसलाई किन सरकारको नेतृत्वमा कायम राखेर पुरस्कृत गरिबक्सेको हो सरकार ! संकटकाल नलम्ब्याउ भनेर प्रधानमन्त्रीलाई भन्दा उसले नटेरेपछि कारवाही भयो । पार्लियामेन्टरी पार्टीले पनि त्यसैलाई मान्छ ……….।
ज्ञ : (बीचैमा) राख्ने वा नराख्ने मेरो ब्यक्तिगत रुचिको कुरा हुँदैन यस्ता मामिलामा । कन्स्टिच्युसनल प्रोसेसबाट आएको कुरालाई चाहे जोसुकै होस् मैले डिनाइ गर्नै मिल्दैन । यहाँ त के भएको छ भने जे गर्दा पनि हामीतिर शंका गर्ने र दोष तेस्र्याइदिने गरिन्छ । तपाईँले भनेका दुई कुरालाई म सिरियसली अनि एफरमेटिभ्ली सोच्छु ।
——————————————————————————————————————-
समय : साँझ । स्थान : नागार्जुन दरबार । मिति : २०६० सालको कुनै साँझ ।
आन्दोलनरत पाँचदलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यक्रममा तत्कालीन सद्भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डल र नेपाली काँग्रेस (प्रजातान्त्रिक) सभापति शेरबहादुर देउबालाई पनि समावेश गरिएको दृश्य त्यहीँ पुगेर देखेपछि गिरिजाप्रसादको मुड अर्कै भयो।
ज्ञ : अब कुरा गिरिजाबाबुबाटै शुरू गरौँ ।
: के कुरा शुरू गर्ने ? आन्दोलनकारी पार्टीहरूसँग कुरा गर्ने भनेर कार्यक्रम बनाएपछि यी दुई कहाँबाट ल्याइए ? यस्तै कामले गर्दा मिसअन्डरस्ट्यान्डिङ् बढेर जान्छ । हामीलाई आन्दोलन गर्न बाध्य बनाउने काम सरकारबाटै भएको छ । अब सरकारसँग वार्ता गर्ने भनेपछि हामीले धेरै चोटी सोच्नुपर्ने भयो । यस्तो हठ काम लाग्दैन सरकार, हामीसँग बेइमानी गर्नु ब्यर्थ हुनेछ ।
वार्तामा केहीबेर सन्नाटा छायो ।
: यहाँ कुरा गर्नुको कुनै अर्थ छैन ।
वार्ता बिना निष्कर्ष समाप्त हुन्छ ।
——————————————————————————————————————-
मिति २०६१ साल माघ १९ गते शुक्रबार ।
राती माघे झरी परेर बिहान रोकिएको हुनाले मौसम सफा छ ।
स्थान : महाराजगञ्जस्थित गिरिजाप्रसाद बस्नेगरेको डा. शशाङ्कको घर ।

राजाले देउबालाई प्रधानमन्त्रीबाट हटाएर आफूलाई प्रधानमन्त्री हुन बोलाउँछन् भनी गिरिजाप्रसाद कोइराला दौरा–सुरवाल कोट टोपी लगाएर भेट्न आउने कसैलाई नभेटी घरीघरी घडी हेर्दै प्रतीक्षाको मुडमा बसिरहेका छन् । राजाको शाही संवोधन उनले त्यही प्रतिक्षामै सुने । तर दरबारबाट कुनै फोन नआएपछि मनाही गरिएको भए पनि एउटा चुरोट सल्काए र यतिमात्र भने “फेरी धोका भयो…….।

फोटोमा राजा ज्ञानेन्द्र श्रीपेच लगाएर राजगद्दी आरोहण भईसके पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला का साथमा । २०६३ बैशाख १९ गते जनआन्दोलन सकिएर प्रधानमन्त्रीको सपथग्रहण गरेपछि ।
राजा ज्ञानेन्द्र श्रीपेच लगाएर राजगद्दी आरोहण भईसके पछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला का साथमा ।
Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६