असार १ गतेदेखि धितोपत्र दोस्रो बजार ६ कारोबार दिन सञ्चालन हुने भएको छ ।
धितोपत्र बजार सञ्चालक नेप्सेले सरकारले असार १ गतेदेखि आइतवार दिएको सार्वजनिक बिदा हटाउने निर्णय गरेसँगै ६ कारोबार दिननै बजार सञ्चालन गर्ने तयारी गरेको हो ।
नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्ज फुयालले अहिले नै निर्णय भइनसकेको भएपनि प्राविधिक कठिनाइ नहुने अवस्था आए ६ कारोबार दिननै बजार खुल्ने जानकारी दिए ।
उनका अनुसार सार्वजनिक बिदाको दिन र शनिबार बाहेक बजार खुला गर्न बजार सम्बद्ध सबै सरोकारवाला निकायहरु सहमत भएका छन् ।
कारोबार अवधि भने आइतवारदेखि बिहीवारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १:३० बजेसम्म तय गर्ने छलफल भएको समेत उनले जानकारी दिए ।
सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पालना गर्दै त्यस अघि आइतवारदेखि बिहीवारसम्म चार कारोबार दिन सञ्चालन हुँदै आएको बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको हो ।
आइतवारको सार्वजनिक विदा हट्ने भएसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने तयारी गरेको हो ।
६ कारोबार दिननै बजार सञ्चालन भएपनि राफसाफमा समस्या नहुने सिडिएस एण्ड क्लियरिङ लिमिटेडको भनाइ छ । सिडिएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्यले हाल टि प्लस टु को व्यवस्था अनुसार नै शुक्रवार बजार खुला भएपनि राफसाफ गर्न सकिने जानकारी दिएका हुन् ।
सार्वजनिक बिदा बाहेकका ६ कारोबार दिननै बजार सञ्चालन गर्नु पर्नेमा आचार्यले जोड दिएका हुन् । उनले पहिला देखि नै ६ कारोबार दिननै बजार सञ्चालनका लागि सिडिएससीले नियामक निकायसँग माग गर्दै आएको समेत बताए ।
नेप्सेको कारोबार प्रणालीमा समस्या नहुने अवस्था आए ६ कारोबार दिनको धितोपत्र राफसाफ समयमै गर्ने प्रतिवद्धता समेत उनले गरे ।