कहाँ गयो हाम्रो तिउरी ? कहाँ गयो लुतो फाल्ने चलन ? साउन सक्रान्तीको केही दिन अगाडि देखी केटाकेटी तथा महिलाहरु बजारमा मेहन्दी बेचिरहेको देखिन थाल्छ । सक्रान्तीको अघिल्लो दिन मधेशमूलका महिला तथा पुरुषहरु मेहन्दी लगाइदिन लामबद्ध बसिरहेका हुन्छन् । साथै हरियो चुराहरुको पनि बजार लागेको हुन्छ । सोच्छु हामी भारतीय बिस्तारवादको नारा लगाउछौ । भारतीय सामग्रीको बहिस्कार गर्ने अन्ध राष्ट्रियताको बखान गर्दछौ । तर आफ्नो संस्कार र संस्कृतिलाई बिर्सदै भारतीय संस्कार र संस्कृतिलाई खुलादिलले स्वागत गर्छौ ।
कसले ल्यायो बोलबम ? २०५० सालमा पहिलो पटक मधेशीमुलका चार युवा सुन्दरीजलबाट शुद्ध जल लिन काँवरियाको रुपमा पुगेका थिए तर लखेटिए । २०५१ मा अन्य केही युवाको साथ फेरी गए । यसपटक सफल भए । यहि नै नेपालमा पहिलो पटक बोलबमको शुरुवात भएको साल हो । यसको लगत्तै माओवादीको उत्कर्षताले केही वर्ष बोलबम रोकियो । ५५-५६ पछि बिस्तारै यसले ब्यापकता पायो । अचेल प्रायजसो शिब मन्दिर समितीहरुको ब्यापार गर्ने थलो झै भएको छ यो बोलबम यात्रा ।
नेपालमा चुरा पोते मेहन्दीको आयात वार्षिक २ अरव भन्दा बढिको हुने गर्छ । हामीले बाल्यकालमा बटुल्ने तिउरी अचेलकाहरुले नामै नसुनेको झै भयो । तिउरी पिसेर हातमा लगाइन्थ्यो । तर अचेल ५०० रुपैया तिरेर मेहन्दी लगाउछन् । त्यो बाल्यकालको तिउरीको लेप नै मेहन्दी हुन्थ्यो । तिउरीको पातमा मकरकाँची बारीको गाभा र पाए परेवाको बिष्टा पनि मिसाएर पिसिन्थ्यो र हातभरी दलिन्थ्यो । अहिले झै चित्रकारिता चाहिँदैनथ्यो ।
१ गतेको बिहानै देखी गाँउघरका केटाकेटीहरु भलायोको पात (कागभलायो). कुकुरडाइनु. लुतेझार. पानीसरो. देवीसरो. रातपाते. तिउरी. सिस्नो. सिउँडी. पानीअमला आदी खोज्न वन दौडन्थे । साँझ भएपछि भण्डारक राक्षसलाई भगाउन बलिरहेको अगुल्टो चारैतिर फेक्ने गरिन्थ्यो । भण्डारक राक्षसले केटाकेटीलाई दुख दिने भएको हुँदा भण्डारकलाई लुतो लैजा लुतो लैजा भन्दै भाका लगाउने गरिन्छ । लुतो फ्याक्दा नाङ्लो ठटाउने. शंख फुक्ने तथा घण्ट बजाउने पनि गरिन्छ ।
वास्तवमा लुतो फाल्ने चलन को शुरुवात हुनुको कारण भने असारे रोपाइमा खेतमा लडिबुडि खेलेपछि छालामा लाग्ने रोग निर्मुल पार्न जडिबुटी युक्त घाँस जलाएर त्यसको राप ताप्नु हो । जसले गर्दा छालामा लागेका लुतो तथा घाउखटिरा निको हुने बिश्वास गर्दथ्यो । तर अचेल समय बदलिसकेको छ । छाला चिलाए वा घाउखटिरा आएमा डाक्टरले बिभिन्न मलम दिइहाल्छन । तसर्थ लुतो फाल्ने दिनको महत्व घट्दै गएको छ ।
twitter.com @jagaranpost
Facebook Comments