नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि भर्ना भएका दुई जना डेंगुका बिरामीको मृत्यु भएको छ।
बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका–६ कैलाली निवासी १२ वर्षीया बालिकाको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए।
उनका अनुसार, ८६ वर्षीय पुरुष भदौ १४ गते र १२ वर्षीया बालिका १९ गते भर्ना भएका थिए। ८६ वर्षीय वृद्धमा दमको कारण स्वासप्रश्वासमा समस्या देखिएकाले सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो। दुवै जनाको उपचारकै क्रममा आज दिउँसो मृत्यु भएको थियो। भेरी अस्पतालमा अहिले डेंगु संक्रमित बिरामी उपचारका लागि आउनेक्रम बढिरहेका छन्।
पहिलो पटक डेंगुको संक्रमण सामान्य भए पनि दोस्रो पटक कडा हुने भएकाले संक्रमण फैलिनसक्ने डा चापागाईंले बताउनुभयो। बाँकेमा डेंगु संक्रमण फैलिन नदिन नेपालगञ्ज उपमहानगरपालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ।
समुदायस्तरमा सचेतना सँगसँगै लामखुट्टेको लार्भा नष्ट पार्ने अभियान भइरहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताए। रासस