रुपन्देहीको बुटवल उपमहानगरपालिकामा घरबाट विद्यालय जाँदा बेपत्ता भएका तीन जना बालक भारतको मुम्बई पुगेको खुलेको छ ।
बुटवल उपमहानगरपालिका-११, दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालयतर्फ गए पनि विद्यालयसमेत नपुगी बेपत्ता भएका थिए ।
शुक्रबार साँझसम्म पनि घरमा नपुगेपछि उनीहरूकाे खाेजी सुरु भएकाे थियाे । प्रहरीकाे सक्रियतामा उनीहरू मुम्बईमा भेटिएकाे १५ वर्षीय बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बालकहरू आफन्तको सम्पर्कमा आएको र सुरक्षित रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेकाे उनले बताए ।
समीरले शनिबार दिउँसो करिब २ बजे आफन्तलाई फेसबुक म्यासेन्जरमा खबर पठाउँदै आफूहरूलाई अज्ञातस्थलमा राखिएको बताएका थिए । आफूहरूलाई अचेत बनाएर ल्याइएको उनले बताएका थिए ।