भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी (जमरे औंसी) सम्म आश्विन कृष्णपक्ष का १६ दिनलाई पितृपक्ष वा जनजिब्रोमा सोह्रश्राद्ध भनिन्छ। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । विभिन्न पौराणिक ग्रन्थमा यो श्राद्धको महिमाबारे उल्लेख छ ।
आफ्ना पितृ दिवङ्गत भएको तिथिमा उहाँका सन्तति (छोरा, नाति, पनाति) हरूबाट पितृहरूको उद्धारको आकाङ्क्षा राखी पिण्ड र तर्पणको अपेक्षा गर्दछन् । त्यसैले प्रत्येक सन्ततिले आफ्ना दिवङ्गत पितृहरूलाई लक्षित गरी श्राद्ध आदि कर्म गर्दछन् । यसरी श्राद्ध गर्दा केही नियमहरूको पालना गर्नु पर्दछ ।
यस श्राद्धमा चारजना ब्राह्मण चाहिने हुनाले कुशको ब्राह्मणको प्रतीक थापिएको हो । पहिलेपहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राह्मण अगाडि राखेर पूजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राह्मण राखिएको हो।
पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा तीर्थस्थल, नदीतटमा गएर पनि गर्ने चलन छ । तर घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ। पार्वण श्राद्ध अपराह्नमा गर्नु भन्ने शास्त्रोक्ति छ। पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृहरूलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन्।
श्राद्धमा तीन वस्तु पवित्र मानिन्छन् : छोरीको छोरा (नाति), दिनको आठौँ भाग र कालो तिल । श्राद्धमा तीन प्रशंसनीय कुरा छन् : बाहिरी र भित्री शुद्धता, क्रोध नगर्ने र हतार नगर्ने । श्राद्धकालमा गीता, भागवत, पितृसूक्त, पितृसंहिता, रुद्रसूक्त, ऐन्द्रसूक्त आदि पाठ गर्नु बुद्धि, मन र कर्म तीनै कुराको शुद्धिका लागि फलप्रद हुन्छ ।
पद्म पुराण तथा मनुस्मृति अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता, सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित वा भड्किलो शैली नअपनाउनू । श्राद्धको दिन घरमा दही नमथ्नु, कपाल नकाट्नु, अघिल्लो दिन मुण्डन नगर्नु । महाभारतका अनुसार भन्टा, गाजर, मुसुरोको दाल, रहर, लौका, हिङ, प्याज, लसुन, बीरेनून, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषिद्ध छ ।
सोह्रश्राद्ध अवधिमा मांगलिक तथा शुभ काम गर्न वर्जित छ । भौतिक नवनिर्माण कार्य, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र बेहुली भित्र्याउने जस्ता कार्य गर्नु हुँदैन । घरमा रंग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ । भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि गर्न हुँदैन । श्राद्धकर्ताले श्राद्ध भन्दा अघि वा सकिएपछि नाचगान गर्ने, जुवा-तास खेल्ने, भड्किला गतिविधि गरनु हुँदैन।
नेपाली परिवेशमा सोह्रश्राद्ध गर्दा पिता (बाबु), पितामह (बाजे) वा प्रपितामह (बराजु) मध्ये कुनै एक जनाको तिथि समाती वर्षेनी उक्त दिन श्राद्ध गर्नु राम्रो हुन्छ । आफ्ना परिजनहरूको मृत्युतिथि थाहा नभएका पितृहरूको नाममा श्राद्ध गर्नुपर्दा शुक्लपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा अमावस्या तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
पितृपक्षमा गरिने श्राद्ध दिनको तेस्रो पहरमा गर्नुपर्दछ । तर एकोद्दिष्ट श्राद्ध (मरेको वार्षिक तिथिका दिन गरिने) श्राद्धमा दिनको दोस्रो पहरलाई लिने गरिन्छ । एकोद्दिष्ट श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध अपराह्नमा र आभ्युदयिकश्राद्ध प्रातःकालमा गर्ने विधान छ ।
प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । तर बन्धुबान्धव र सगोत्रीको स्वामित्व भएको घर वा कोठाचोटामा श्राद्ध गर्दा फरक पर्दैन । अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुनेमात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ । त्यसैले खासगरी सहरी क्षेत्रमा अरूको स्वामित्वको घरमा डेरा गरी बस्ने श्राद्धकर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र वा मन्दिरमा गई गर्नु उपयुक्त हुन्छ । मन्दिर वा तीर्थक्षेत्र पनि नजिकै छैन भने भुइँमा आँगनमा, तुलसीको मठ छ भने गृहमालिकको स्वीकृति लिई त्यहाँ श्राद्ध गरेमा दोष लाग्दैन । स्रोत : निर्णयसिन्धु, पद्मपुराण, विकिपीडिया र रेडियो कान्तिपुर (FM) को कार्यक्रम भक्ति अनुष्ठानमा प्रस्तोता अच्युत सुवेदी र स्व. जनार्दन घिमिरेका सामग्री मिलाईएको रुपमा ।