पोखरा घुमाघामसंङ्गै मनमा अर्को एक कौतुहलता पनि जागिरहेको थियो – लक्ष्मी दिदी कस्ती भएकी होलिन? एकपटक भेट्न पाए पनि हुनेथियो भन्दै मनमनै गम्दै यताउती भौंतारिईरहेका थियौं। समय निकालेर जसरी भएपनि दिदिसंग भेट्ने हामीले सल्लाह गरेका थियौं। अन्तत: हिजो दिऊँसो हामी उनकै पसलमा पुगेर उनीसंङ्ग साक्षात्कर गरेर फर्कियौं।
पहिला पोखराकै बिरौटामा बस्दै आएकोबखत उनीसङ्ग भेट भएको थियो। यो करिब ८ बर्षजति अंघिको कुरा हो। त्यतिखेर पनि उनी क्यान्सरजस्तो गम्भीर रोगसंङ्ग लड्दैथिईन भने आज उनलाई भेट्दा पनि उनी त्यहिं क्यान्सरसंङ्ग लडिरहेको अवस्थामा भेटिएकी थिईन। उतिखेर भेट्दा जस्तो हिम्मतिली दिदी थिईन, आज भेट्दा पनि उस्तै हिम्मतिली दिदी पाईयो। मनमा दुख र बेदनाका अथाह पहाड भएता पनि बाहिर चाहिँ सधै हंसिली एवं उत्साही दिदी रहेकी छिन।
पोखराको ड्यामसाइडमा सभ्यता ह्याण्डीक्राफ्ट तथा ढाकाको कपडा पसल खोलेकी उनले आफ्नो उपचार एवं दैनिक जिविका यसै पसलको आम्दानीबाट जोहो गर्दै आएकी छिन। यतिमात्र होईन, यहिं पसलका सामानबाट बिक्री भएर प्राप्त भएको रकमको १० प्रतिशत रकम क्यान्सरपिडितको उपचार्थ खर्च गर्नेगरि ब्यवस्था पनि मिलाएकी छिन।
जापनमैं पढेर ऐले गूगलमा जागिर खाएको छोराले आफ्नो उपचार एवं सुखदुखमा असाध्यै साथ दिएकोमा दिदिले आफ्नो छोराप्रति औधि गर्व गर्दछिन। मासिक एक लाखभन्दा बढिको औषधि लाग्ने बताऊने दिदिले उपचार खर्च एवं दैनिक भैपरी आऊने खर्च पसलको धेरथोर व्यापार, छोराको सहयोग एवं विभिन्न संघसंस्थाको सहयोग एवं सक्रियतामा मात्र सम्भव भएको उनी बताऊँछिन।
हुन त मनमा अथाह पिडाका पहाड उनमा नभएको पनि हैन। तैपनि सबैजनासंङ्ग हाँसीखुशी बिनम्र भै प्रस्तुत हुन्छिन। बाहिरबाट झट्ट हेर्दा के भएको छ र? भन्नेजस्तो ज्यूडाल एवं अनुहार भएकी उनलाई बेलाबखत त्यहिं पिडाका पहाडले थिच्दाहुन र त बेलाबेलामा मन भारी बनाई गहभरि आँशु छचल्काऊँदै, हातले पुछ्दै फेरि आफै सम्हालिंदै भन्छिन, “नाफामा पाएको जिन्दगीले नयाँ बिश्वास दिएको छ,जीवन फेरि जिउने उत्साह जगाएको छ,”।
५५ वटा किमो चढाईसकेकी उनमा एस्पाईनल कर्ड,आखां, ब्रेन,नशासहित चौथो चरणको क्यान्सरलाई उनले जितिसकेकी छिन। पटकौं पटकको किमो र रेडियेसनले उनको भौतिक शरिरलाई गलायो तर उनको जीबनप्रतिको उत्साहलाई गलाउन सकेन। काठमाडौंको ग्रान्डी अस्पताल र दिल्लीको प्रतिष्ठित मेदान्त अस्पतालका डाक्टरहरुसंग उपचार गराए तर कसैले मेरो रोग पत्ता लगाउन सकेनन, बरु उल्टै दिल्लीका डाक्टरले यो धेरै बाँच्दिन, १/२ महिनामात्र बाँच्छे, संसारको जुनसुकै अस्पताल लगे पनि उपचार सम्भव छैन भनेर भन्दा त मैले केवल छोरोमात्र सम्झिएर काल पर्खिएर बसें- दिदिले त्यसबखतको पीडा सुनाऊंछिन।
अस्पताल धाउँदा-धाउँदा आठ पटकको उपचार पछि भारतका चिकित्सक अशोक वैद्यले क्यान्सर रहेको रिपोर्ट दिए। उनले हातै जोडेर “आई एम सरी,तपाई अन्तिम चरणको क्यान्सरको बिरामी हुनुहुन्छ, हामी केही गर्न सक्दैनौ समेत भने, उनी भन्छिन। “उपचारको क्रममा ६० लाख भन्दा बढी खर्च भयो तर मलाई आशा थियो कि म जित्छु, मैले हार कत्ति खाईन ,उनी थप्छिन्, त्यही एक त्यान्द्रो आशामाथि टेकेरै क्यान्सरबाट उनी मुक्त भइन् र नयाँ जीवन पाइन् ।”
उनको ढाकाका कपडा ५ हजारदेखि २५ हजार सम्म बिक्री वितरण हुन्छ र माग पनि बढ्दो छ। छोरा निश्चल, भाउजु राधा भट्टराई, माईतिका समस्त सदस्यजन र साथीहरुको साथकै कारण जीबनप्रति सकारात्मकता बढेसंगै उधम गर्ने अझ हौसला मिलेको उनको भनाइ छ र आफ्नो दुख र संघर्षमा भरमग्दुर साथ सहयोग गर्ने ती सबै महानुभावमा सदैव धन्यवाद दिईरहने बताएकी छिन। अहिले आफ्नो लागि भन्दा अरुका लागि,समाजका लागि जिउँदाको आत्मा सन्तुष्टि नै बेग्लै छ। उनको अधिकांश समय समाज सेवा सहित क्यान्सर सम्बन्धि परामर्श कार्यमा बितेको छ भने विभिन्न संघ संस्थासँग आवद्द भइ आफूजस्तै क्यान्सर बिरामीलाइ हौसला दिन पनि उनी व्यस्त छिन्। समाज सेवामै बाकी जीबन बिताउने उनको योजना छ।
प्रस्तुती – बिजय ज्ञवाली