बागलुङ – बागलुङको बडिगाड गाउँपालिकाले पालिका भित्र रहेका मुख्य बजार क्षेत्रमा सीसी क्यामेरा जडान गर्ने भएको छ । गाउँपालिकाको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्ने मुख्य बजार क्षेत्र, भिडभाड हुने स्थान अब सिसि क्यामेराको निगरानीमा हुुने भएको हो ।
शान्ति सुुरक्षालाई थप सुुदृढ बनाउँदै सडक दुर्घटना तथा अपराधलाई न्यूनीकरण गर्न बडिगाड गाउँपािलकाले सीसी क्यामेराको जडान गर्न लागेको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए । गाउँपालिकाले आईतबार प्रजातन्त्र दिवसको अवसर पारेर सम्भावित ठाउँहरुको निरिक्षण गरेको छ । गाउँपालिका अध्यक्ष थापा सहित, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारी, वडा नं ५ का वडाध्यक्ष विष्णु प्रसाद आचार्य, सुरक्षाकर्मी लगायतको टोलीले उक्त ठाउँहरुको सम्भाव्यता अध्यनन गरेको हो ।
गाउँपालिकाले वडा नं २ को खर्बाङ बजार, हाडीखोला, डोँडेया, वडा नं ५ को खार, खौलार र न्वार बजार क्षेत्र, वडा नं ६ को खाल बजार क्षेत्र र वडा नं ७ भिमगिठेको उपल्लो बजार र तल्लो बजार सहित पालिका भित्रका १९ स्थानमा सिसी टिभि क्यामेरा जडान गर्न लागेको थापाले बताए।
पालिका भित्र हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै बजार क्षेत्र र पालिकासगं सिमाना जोडिएका ठाउँहरुमा सिसी टिभि क्यामेरा जडान अभियान थालिएको गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत चेतनारायण भण्डारीले बताए। “छिमेकी जिल्ला र पालिकामा पछिल्लो समय अपराधिक गतिबिधि बढेपछि हामीले सुरक्षा सतर्कता स्वरुप क्यामेरा जडान अभियान थालेका हौँ,भण्डारीले भने ; यसले प्रहरीलाई समेत अनुसन्धानमा सहयोग पुर्याउने छ ।”
गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को विशेष विकास कोषबाट बजेट विनियोजन गरि क्यामेरा जडान अभियान थालिएको उनको भनाई छ । सिसी टिभि क्यामेरा जडान सोमबारबाटै सुरु हुने उनको भनाई छ ।
सिसी टिभि क्यामेरा जडानको जिम्मा पाएको तिवारी सन्सका व्यवस्थापक श्यामु तिवारीले बडिगाड गाउँपालिकासगं सिमाना जोडिएका मुसिकोट नगरपालिका, गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको सिमा क्षेत्रबाट जडान सुरु हुने बताए । उहाँले २/३ दिन भित्रै जडान सम्पन्न हुने जानकारी दिए।
जडान गरिएका सिसी टिभि क्यामेरा ईलाका प्रहरी कार्यालय भिमगिठे, प्रहरी चौकी खर्बाङ, प्रहरी चौकी खार र गाउँपालिकाको कन्ट्रोलमा रहने बताईएको छ ।