रुपन्देहि – अर्घाखाँची सिमेन्ट उद्योगमा चारजना मजदुरको ज्यान गएको घटना गुपचुप पारिएको रहस्य खुलेको छ। प्रहरीका अनुसार गत माघ १६ गते दिउसो सिमेन्ट उद्योगको कोलमिलमा भएको आगलागीमा परि ६ जना मजदुर घाइते भएका थिए।
रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मैनहियामा रहेको उद्योगको कोईलामा ग्याँस लिक भएर आगलागी हुँदा उद्योगमा कार्यरत ६ जना प्राविधिक मजदुर घाईते भएका थिए।
घाईते मध्ये ४ जनाको उपचारको क्रममा मृत्यु भएको र दुईजना भने उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेहरुमा रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं४ बस्ने ३८ बर्षिय अंगद हरिजन, भारत उत्तर प्रदेश जिल्ला फनेहपुर ग्राम सेलवन घर भएका ५० बर्षिय जितेन्द्र कुमार, विहार गोपालगञ्ज ग्रामका २७ बर्षिय शसिकान्त कुमार कुसवाह र विहारकै समस्तपुर ग्रामका ४८ बर्षिय श्रीराम सिंह रहेका छन्।
त्यस्तै भारत बिहार घर भएका रनजकिशोर यादव र भारत महाराजगञ्ज घर भएका शिवलाल हरीजन घाईते भएका छन्। उनिहरु उपचार पछी घर फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए। आफुले गरेका सामान्य कामहरु समेत प्रचारको रुपमा पत्रकारहरुलाई ईमेल गर्दै सार्वजनिक गर्ने रुपन्देही प्रहरीले यति ठूलो घटनालाई भने एकमहिना सम्म गुपचुपमै राखेपछि प्रहरीको भूमिकाप्रति नै आशंका उब्जिएको छ।
घटना भएको एकमहिना पछि मात्रै राष्ट्रिय मानव अधिकार आयोगसमक्ष घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारवाही गर्न र क्षतिपूर्ति उपलब्ध गराउन भन्दै मृतक र घाईतेका परिवारले ध्यानाकर्षण गराएपछि बल्ल घटना सार्वजनिक भएको हो। मृतकका परिवारले उद्योगले एकहप्ता सम्म सामान्य घाइते भन्दै ढाँटेको र एक्कासी लाश बुझ्न बोलाएको बताए।
घटना लगत्तै प्रहरीको टोली पुगेर घटनास्थल र त्यहाँको अवस्थाबारे मुचुल्का तयार पारेपनि घटना बाहिर नल्याएको भन्दै मृतक र घाईतेका परिवार तथा अन्य मजदुरका आफन्तले पनि घटनाबारे आशंका गरेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले घटना हुँदाको बखत आफु विदामा रहेको र कार्यालयबाट पनि घटना लुकाउने नियतले सार्वजनिक नगरिएको नभई छुट्न गएको हुनसक्ने बताए। ‘म आफु विदामा बसेको थिएँ, घटनाबारे तपाईहरुले पनि सोध्नुभएन हामिले पनि बिर्सियौं होला,’ उनले भने।
प्रहरी नायब उपरिक्षक अर्यालले घाईते भएको र मृत्यु भएको मिति फरक फरक भएकोले पनि घटना सार्वजनिक गर्न अलमल भएको हुनसक्ने बताए। सिमेन्ट उद्योगको सुरक्षा हेर्दै आएका अजय भट्टराईले उद्योगको कोईला प्लाण्टमा बेलाबखत आगलागी भईरहने र तत्कालै निभाउने गर्दै आएकोमा सो दिन भने मजदुरहरु नै जल्ने गरि दुर्घटना भएको बताए।
भट्टराईका अनुसार घटना हुँदाको अघिल्लो दिन पनि प्लाण्टमा आगलागी भएर नियन्त्रणमा लिईएको र सोहि प्लाण्ट सफाई गर्ने क्रममा घटना हुन पुगेको बताए।
अघिल्लो दिनपनि प्लान्टमा आगलागी भई दमकलले निभाईएको थियो, भोलिपल्ट आगो पुरै निभ्यो होला भनेर सफाई गर्दा प्राविधिकहरु नै दुर्घटनामा परे,’ उनले भने। भट्टराईले आगो निभ्यो होला भन्ने ठानेर भित्र पसेको बेला भित्र भित्रै सल्किएको आगोमा पर्न पुगेको बताए।