जनकपुरधाम – महोत्तरीको गौशालामा छोरीलाई विष सेवन गराएर हत्या गरेको भन्दै मृतकको श्रीमानको घरमा आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको छ।
सोमबार गौशाला नगरपालिका ४ मलहनिया पोखरी टोलमा आरती देवी साहलाई ससुरापट्टीको घरपरिवारका सबैजनाले मिलेर विष सेवन गराएर हत्या गरेको भन्दै आरतीको माइती पक्षले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गर्न खोजेपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
करिब डेढसयको समुहमा आक्रोशितहरूको भिडले मृतकको श्रीमानको घरमा आक्रमण गर्न खोजेपछि उनीहरूलाई बचाउने क्रममा प्रहरीले २२ राउन्ड हवाई फायर गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
नेपाल प्रहरीको तर्फबाट सानो पेस्तोलबाट ५ राउण्ड र सशस्त्र प्रहरीले एसएलआरबाट ४ राउण्ड तथा ग्यास गनबाट १३ सेल फायर गरेको प्रवक्ता गिरीले जानकारी दिए। सो नियन्त्रणको क्रममा नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका ३ जना सामान्य घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ।
उक्त स्थानमा अहिले नेपाल प्रहरीबाट प्रहरी निरीक्षक मनोज यादबको कमाण्डमा ३५ जना र सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प रामनगर गौशाला महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक शंकर थापाको कमाण्ड १४ जनाको टोलि खटेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएका छन्।
गत शुक्रबार राति करिब साढे ११ बजे गौशाला ४ मलहनिया पोखरी टोल बस्ने उमेश साहको श्रीमती २७ वर्षीया आरतीले घरायसी बिवादका कारण मुसा मार्ने विषादी सेवन गरेकी थिइन्।
प्राथमिक स्वाथ्य केन्द्र गौशालामा सामान्य उपचारपश्चात् थप उपचारको क्रममा ट्रमा अस्पताल बर्दिबासमा शनिवार मृत्यु भएको थियो। सोही घटनामा आज मृतकको माईती पक्ष र स्थानीय मानिसहरूले आरतीलाई ससुरापट्टीको घर परिवार सबै मिली बिष सेवन गराई मारेको आरोप लगाई सम्सी–माईस्थान भित्री सडक खण्डमा टायर बाली बाटो अबरोध तथा नारा जुलुस गरेका थिए। अहिले सडक एकतर्फी रुपमा सुचारु भएको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले आरतीको श्रीमान ३९ वर्षीय उमेश साहलाई ईलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखी थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।