
काकडभिट्टा, रासस – पूर्वीनाका काँकडभिट्टाबाट १५ किलोमिटर दक्षिण मेची नदी किनारै किनार गएपछि डेढ सय जनसङ्ख्या रहेको दुई वटा टापु पुगिन्छ। जसलाई ग्वालाबस्ती र सिसौडाँगी भनेर चिनिन्छ।
नेपाल-भारतको सीमा नदी मानिएको मेची नदी पारिको भूभागमा रहेको ग्वालाबस्तीमा तीन पुस्तादेखि गाईपालन र खेतीपाती गर्दै आएका यादव समुदायको बाहुल्य छ। नजिकैको सिसौडाँगीमा सन्थाल र राजवंशी समुदायको बाहुल्य छ। मेचीनगर नगरपालिकाको वडा नं १५ मा रहेको दुई टापु बस्तीमा पहिलोपल्ट पुग्नेलाई ती भूभाग नेपालको हो भन्ने थाहा पाउँदा अनौठो लाग्ने गर्छ। नेपाली नागरिकता र मतदाता परिचयपत्र बोकेका त्यहाँका आदिवासी नेपाली दशगजाको जङ्गे सीमा स्तम्भ रुँघेर बसिरहेका सिपाही जस्तो भान हुन्छ।
कृषि र चिया मजदुरी पेशा गर्दै आएका बस्तीका अधिकांश बासिन्दा दैनिक किनमेलका लागि भारतीय हाटबजार पुग्छन्। बिरामी हुँदा उपचार गर्न र बारीमा फलेको तरकारी बेच्न भारत जान बाध्य स्थानीयवासी आफ्ना बालबालिका पढाउनका लागि भारतीय विद्यालय पठाउँछन्।
भौगोलिक विकटताका कारण मेचीवारिको कालिकाझार, भिन्डीबस्ती र फडानी बस्तीका बासिन्दासँग मेचीपारिको बस्तीका बासिन्दाको विरलै आउजाउ हुन्छ। मातृभाषा बोल्न रुचाउने त्यहाँका कतिपय नेपाली भाषा बोल्दैनन्।
मेची नदीले पूर्वी किनारमा अलग्याएको र राज्यले कुनै सुख सुविधा पुर्याउन नसकेको त्यहाँका बासिन्दाले मेची नदीमा पुल बनाउन विगत ३२ वर्षदेखि एकोहोरो माग राख्दै आए। हरेक चुनावमा पहिलो आश्वासन नै मेचीमा पुल बनाउने हुने गरेको छ। व्यवस्था फेरियो, चुनाव कति आए गए, तर मेचीपारिको टापु बस्तीलाई मूल भूभागसँग जोड्नका लागि राज्यले एउटा झोलुङ्गे पुल बनाएन।
विसं २०४८ को संसदीय चुनावमा झापा क्षेत्र नं ३ बाट विजयी बन्नुभएका राधाकृष्ण मैनालीले भोट माग्न मेचीपारिको दुवै बस्तीको घरघरै पुग्दा मेची नदीमा पुल हालिदिने आश्वासन दिएको सम्झिनुहुन्छ ८२ वर्षीय राजेन्द्र यादव। त्यसपछिको अर्को संसदीय चुनावमा विजयी बन्नुभएका देवीप्रसाद ओझा, नरेन्द्रविक्रम नेम्वाङ, रविन कोइराला र राम कार्कीबाट बस्तीलाई जोड्न मेचीमा झोलुङ्गे पुल बनाइदिने आश्वासन नै पाएको उनी बताउँछन्।
राधाकृष्ण मैनालीले चुनाव जितेर मेचीमा पुल हालिदिन्छु भन्नुभएको थियो’, वयोवृद्ध यादवले भने, ‘अस्ति भर्खरै विश्वप्रकाश शर्मा पनि भोट माग्न आउँदा पुल नै बनाइदिन्छु भन्नुहुन्थ्यो। खोई अहिलेसम्म बनेको छैन।’ पुल बनाइदिन्छु भनेर भोट माग्ने नेताहरू फर्केर कहिल्यै नआएको यादवले गुनासो गरे।
त्यहाँको मेची नदीमा वर्षौंदेखि झोलुङ्गे पुल बन्ने कुरा कथा जस्तै भएको छ। ग्वालाबस्तीमै जन्मे हुर्केका ६४ वर्षीय राजकुमार राया गाउँ छाडेर बसाइँ हिँडे। ग्वालाबस्तीमा राज्यको कुनै सुविधा नपुगेका कारण मेचीवारिको कालिकाझार नामक गाउँमा उनी सपरिवार बसाइँ सरेका हुन्।
नेपालतिर आउने सडक छैन, मेची नदीमा एउटा पुल पनि बन्दैन भने कसरी बस्नु त्यस ठाउँमा?,’ बसाइँ हिँड्नुको कारण बताउँदै राया भन्छन्, ‘आफ्नो बारीमा फलेको सागसब्जी नेपालतिर ल्याउँदा पनि इन्डियाबाट ल्याएको हो भनेर सुरक्षाकर्मीले सोध्छन्।’ त्यहाँका बासिन्दासँग नेपाली नागरिकता, जग्गा धनीपुर्जा र नेपाली मतदाता परिचयपत्र छ। तर, नेपालको सङघीय, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारले सडक, स्वास्थ्य, शिक्षा, खानेपानी र अनुदानलगायत कुनै पनि सुविधा पुर्याउन सकेको छैन। सरकारले ग्वालाबस्ती र सिसौडाँगीमा स्वास्थ्य बीमाको सुविधा पनि पुर्याउन सकेको छैन।
मेची नदीमा पुल बनिदिए टापु गाउँका बासिन्दालाई नेपालतिरको आउजाउ सहज हुने स्थानीयवासीको अपेक्षा छ। मुलुकमा सङ्घीय गणतन्त्र स्थापना भएयता मेचीनगर नगरपालिकामा दुई कार्यकाल जनप्रतिनिधि निर्वाचित भइसक्दा स्थानीय तहले आफ्नो वडा नं १५ को अभिन्न अङ्गका रूपमा रहेका ती गाउँलाई जोड्न झोलुङ्गे पुल बनाउन सकेनन्। दुईपटककै स्थानीय चुनावमा राजनीतिक दलले आफ्नो घोषणापत्रमा मेची नदीमा झोलुङ्गे पुल बनाउने बुँदा लेख्न छुटाएका थिएनन्।
पुल नबन्दा स्थानीयवासीले शिक्षा, स्वास्थ्य र सुरक्षा जस्तो अति महत्त्वपूर्ण राज्यको सुविधा उपभोग गर्न पाएका छैनन्। ग्वालाबस्तीका ४२ वर्षीय मोतिलाल यादवले मेची नदीमा पुल नहुँदा स्वदेशमा उपचार पाउनबाट वञ्चित हुनुपरेको बताए। दुई वर्षदेखि मिर्गौलामा समस्या आएपछि ओछ्यानमा थला परेका उनी पछिल्लो छ महिनादेखि दाहिने हात र खुुट्टा नचल्ने पक्षघातको रोगबाट प्रताडित छन्। उनको गत महिनादेखि बोली बन्द भएको छ। भूगोलले नेपालभित्र परे तापनि सुविधाका हिसाबले नेपाली बन्न नपाएको स्थानीयवासीको गुनासो छ।
मेची नदी मा पुल बनाइदिए भद्रपुर, धुलाबारी र बिर्तामोड गएर आफ्नै देशको स्वास्थ्योपचार सेवा लिन पाउने सपना कहिल्यै साकार नभएको ग्वालाबस्ती टोल विकास समितिका अध्यक्ष अमूल यादवले बताए। ‘भारततिर गयो भने सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले नेपाली भनेर हेप्छन्’, उनले भने, ‘नेपालतिर जाउँ भने मेची नदीमा पुल नै छैन। सरकारले सडक बनाइदिएको छैन।’ आफ्नै मुलुकबाट उपेक्षित भएर बस्नुपर्दा पीडाबोध हुने गरेको उनले बताए।
बर्खायाममा मेचीमा बाढी आउने हुँदा नेपालसँग ग्वालाबस्तीको सम्पर्क नै विच्छेद हुने गरेको छ भने हिउँद याममा पनि बालुवाको बगर छिचोलेर एम्बुलेन्स पुग्न सक्दैन। नेपालले बेवास्ता गर्ने र भारतले नचिन्ने भएकाले त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर छ। बर्खामा जबरजस्ती मेची नदी तर्ने प्रयास गर्दा केहीको अकालमा ज्यान गएको स्थानीयवासीको भनाइ छ।
दशगजा नजिक बसोबास गर्दै आएका ग्वालाबस्तीका बासिन्दालाई भारतीय क्षेत्रको बतासी र अधिकारी बजार नजिक पर्दछ। सामान्य उपचार गर्नदेखि दैनिक उपभोग्य सरसामान किन्न समेत त्यहाँका बासिन्दा भारतीय बजार नै पुग्न बाध्य छन्। टापु गाउँमा कुनै स्वास्थ्य चौकी छैन। प्रहरी चौकी पनि छैन। एउटा बस्तीमा एक वर्षदेखि आधा वर्ष बिजुली बल्छ भने अर्को बस्ती बार्हैमास अँध्यारो हुन्छ। राज्यको उपस्थितिको नाममा ग्वालाबस्तीमा मेची आधारभूत विद्यालय छ।
राज्यको निशानीको रूपमा रहेको मेची आधारभूत विद्यालय विद्यार्थी र शिक्षक अभावमा बन्द रहेको अभिभावक कुमार राजवंशी बताउँछन्। कक्षा २ सम्म स्वीकृति पाएको सो विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अहिले बन्द भइसकेको छ। शिक्षक नै विद्यालय आउन छाडेको उनले बताए। ‘मेचीमा पुल बन्ने हो भने यहाँका बालबालिका नदीपारि नेपालको विद्यालय र कलेजमा पढ्न पाउँथे’, उनी भन्छन्, ‘बाध्य भएर यहाँका विद्यार्थी दशगजापारि भारतको विद्यालयमा पढ्न जान बाध्य छन्।’
पुल नहुँदा नेपाली बजारमा स्थानीय उत्पादन बिक्रीका लागि लैजान सक्ने अवस्था छैन। आलु, काउली, पर्बल, खरबुजा, बैगुन, करेलालगायतका तरकारी उत्पादनका लागि उर्बर ती बस्तीमा अचेल भारततिरकै किसानले जग्गा भाडामा लिएर खेती गर्न थालेका छन्।