काठमाण्डौ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले देशको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन।
गाउँघरमा बाँदर आतङ्क फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्ने निर्णय गरेर जाँदा देशलाई आर्थिक सङ्कटमा राहत मिल्ने पनि बताएका छन।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले किसानको बाली लुटेर लैजाने बाँदरलाई निर्यात गर्दा कसो होला पनि जिज्ञासा पनि राखेका थिए। उनले देश आर्थिक महासङ्कटबाट गुज्रिएको उल्लेख गर्दै त्यसको निदानका लागि सत्तापक्ष र प्रतिपक्ष सबैले मिलेर काम गर्नुपर्ने बताए।
‘अहिले देश आर्थिक महासङ्कटमा परेको छ । हामीले याे समस्याको समाधान खोज्नै पर्छ । तर पुँजीगत खर्च कटौती गरेर उभोगतितिर लैजान सकिँदैन । सङ्कटमोचनका उपायहरू खोजौँ ।
अस्ट्रेलिया विकसित देश हो । त्यहाँको राष्ट्रिय जनावर कङ्गारु हो । त्यहाँ आर्थिक व्यवस्थापनको सन्दर्भमा लाखौँ कङ्गारु मारिन्छ । यस्तै श्रीलङ्काले भर्खरै एक लाख बाँदर निर्यात गर्ने निर्णय गरेको छ । सभामुख महोदय हाम्रा गाउँहरूमा पनि अहिले बाँदर आतङ्क मच्चिएको छ । किसानले लगाएको बाली टिप्ने बेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला ? अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दा ठिकै हुन्छ जस्तो लाग्दछ ।’ उनले संसदमा भनेका छन।