हालै सम्पन्न प्रतिनिधि सभातर्फको रिक्त स्थानमा गरिएको उप- चुनाव ले ठुला र पुराना भनाउदा दलहरुलाई स्पष्ट रुपमा तीन सन्देश दिएको छ। सच्चिने, सच्याउने र सतर्कता अपनाउने।
चितवन र तनहुँमा सम्पन्न उपचुनाव मतपरिणामले ती तिनै ठुला भनिएका दलहरुको कानमा जोडदार रुपमा चेतावनीको घण्टी बजाएको मात्र छैन, दलहरुलाई यथासक्य रुपान्तरित हुन समेत घचघच्याएको छ। तर, बारामा सम्पन्न चुनावी परिणामले भने परिवर्तनको लागि जनआवाजलाई बुलन्द गर्न सकेको छैन।
चितवन र तनहुँको उपचुनाव परिणामले प्रजातन्त्रमा जनता मालिक हुन् भन्ने स्पष्ट सन्देश दिएको छ। एकपटक भोट दिएको वा कुनै पार्टीसँग विगतमा आवद्ध रहेको कारण सोही पार्टीलाई सधै भोट दिन्छन् भन्ने मान्यताको अन्त्य भएको छ। यो लोकतन्त्र परिपक्व हुँदै गएको संकेत हो। यो मान्यता देशभर कायम हुनसके नेपाल नया युगमा प्रवेश गर्नेछ ।
उपचुनावको नतिजाले पुराना स्थापित राजनीतिक शक्तिहरूप्रति जनतामा विकर्षण थप बढ्दै गएको प्रस्ट देखाएको छ । गत मंसिरमा सम्पन्न आम चुनावमा केही महिनाअघि मात्र खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी चमत्कारिक ढंगले चौथो शक्ति बनेर उदाउनुको समवेत सन्देश त्यति बेलै स्पष्ट थियो— परम्परागत दलहरू नसुध्रिएमा थप खिएर जानेछन्, जसलाई यो उपचुनावले पुनर्पुष्टि गरेको छ ।
उपचुनावको परिणामले देखाएको छ– राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको आशा घटेको छैन। रवी तथा स्वर्णिमको विजयले देखाएको छ- जनतामा रास्वपाप्रतिको ‘क्रेज’ कायमै छ र यो दलप्रतिको आकर्षण बढेको छ।
- सम्पादकीय- अस्थिर राजनितिको विजारोपण
- विशेष सम्पादकीय – यौटा नालायकीपनाको पटाक्षेप
- सम्पादकीय- भ्रष्ट मन्त्रीहरुले घेरिएको सरकार
एउटा कुरा के नकार्न सकिँदैन भने रास्वपालाई आएको भोट उसको समर्थनमा आएको भोटसँगै राजनीतिक दल बिरुद्धको आक्रोश पनि हो । निर्वाचित प्रतिनिधिहरु जनताले तोकिदिएको सही लेनमा हिँड्न नसक्दा रास्वपाको उदय भएको हो। रास्वपाको चामत्कारिक जितले धेरै प्रश्नहरु सिर्जना गरेको छ र धेरै पाठ पनि सिकाएको छ।
उपचुनाव हारेपनि अहिले नेपाली कांग्रेस, एमाले र माओवादी ठूला दल हुन । अर्को चुनाव नहुँदासम्म यो स्थितिमा परिवर्तन आउने अवस्था छैन, अर्थात संसदीय चुनावी गणितमा उनीहरु अझै माथि छन् । तर यो उपचुनावले यी दललाई अब सच्चिने हो कि सक्किने हो ? भनेर प्रश्न खडा गरिदिएको छ । सच्चिदा स्पेश रहन सक्छ अन्यथा सक्किने नै हो । सच्चिने हो भने यी पार्टीहरु भित्र व्यापक विमर्श हुनु जरुरी देखिन्छ । विगतका आफ्ना अपराध र कार्यशैलीप्रति आत्मालोचित हुनुपर्छ । र, त्यसका लागि दोस्रो पुस्ताका भनिनेहरुबाट पहल हुनुपर्छ । किनकी पहिलो पुस्ता त यसै विदा हुने अवस्थामा छ, तर पार्टी रहने नरहने र आफ्नो स्पेश के हुने भन्ने चिन्ता दोस्रो पुस्ताले गर्ने हो।
नागरिकमाझ अहिले को कति लोकप्रिय छ, आफ्नो पेशा र क्षेत्रमा कति काबिल छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आफू संलग्न क्षेत्रमा सक्षम मानिएको र अब्बल ठहरिएको निपूर्ण मानिस राजनीतिमा आऊन् भन्ने आशा बढेको छ । उनीहरूले कम्तिमा राज्यको ढुकुटीलाई आफ्नो जीवन निर्वाहको लागि दुरूपयोग गर्नुपर्दैन भन्ने मान्यता विकास भएको छ । उनीहरू जुन क्षेत्रमा दक्ष र विज्ञ छन्, उक्त क्षेत्रमा सघन प्रगति र पुर्ननिर्माण गर्नसक्छन् भन्ने विश्वास बढेको छ ।
लोकतान्त्रिक व्यवस्थामा महत्त्वपूर्ण मानिने राज्यका अंगलाई पार्टीको प्रभावमा पार्ने र बिस्तारै तिनलाई पार्टीकरण गर्ने काम अहिलेका ठुला दलबाट भइरहेका छन् । न्यायालयमा दलीयकरण होस् वा प्रहरी प्रशासनमा हस्तक्षेपकारी भूमिका वा निजामती कर्मचारीको पार्टीकरण। यी सबै कुराले लोकतन्त्रलाई बिस्तारै कमजोर बनाउने र मुलुकलाई अधिनायकवादको बाटोमा लैजाने अभिप्राय तीनवटै दलमा देखिन्छ।
पुन: जनताले परिवर्तन चाहेको र यिनै पुराना दलहरुलाइ फेरि फेरि मौका दिन नचाहेको भनौं या यिनिहरुले जनताको बिश्वास गुमाएको सन्देश भोट परिवर्तन मार्फत राम्रै दिएका छन्। तर जित्नेहरु मात्तिनु पर्ने कुनै कारण छैन। वाचा पुरा नगरे फेरी पुरानै वा अर्को नयाँ बिकल्प खोज्नेछन्। यो उपचुनावको परिणामले भने दलहरू लाई सबैभन्दा महत्वपुर्ण सन्देश दिएको छ – सच्चिने, सच्याऊने र सतर्क रहने।
यो चुनाव पार्टी परिवर्तन नगरी भोट मात्र परिवर्तन गरेको अवस्था हो। जित्नेहरु मात्तिनु पर्ने कुनै कारण छैन। वाचा पुरा नगरे फेरी पुरानै वा अर्को नयाँ बिकल्प खोज्नेछन् तर हार्नेहरुमा “मध्यावधि चुनाव गरौं” भनेर कसैले कुरा उठायो भने भागाभाग हुनेछ। उपचुनावको सबैभन्दा महत्वपुर्ण सन्देश यहिं नै हो।