
हामी ह्वाईट हाउस परिसर बाहिरको विशाल मैदानमा पुग्दा त्यो ‘स्वेत सदन’ लाई फोकस गरी उभिएर फोटा खिच्ने युवा–युवतीहरूको नित्य निरन्तर भीड थियो । ह्वाईट हाउस हेर्न ‘ह्वाईट्स्’ सँगसँगै ‘ब्लाक’ हरूको पनि त्यत्तिकै तँछाड–मछाड थियो । युरोपदेखि दक्षिण अमेरिकासम्मका गोराहरू, अमेरिकीहरूमा पनि “This is my first time….” (यो मेरो पहिलो पाली हो…) भन्नेहरू कम थिएनन् ।
ह्वाईट हाउस वरिपरि माग्ने, मैलोधैलो, बेघरबार मानिस को होला र ! भन्ने लाग्थ्यो । त्यहीं पुगेपछि भ्रमको पर्दा च्यातियो । ह्वाईट हाउस बाहिरका फलैंचामा आफ्ना पोका–पन्तुरा फैलाएर लमतन्न सुतिरहेका वा आगन्तुकबाट एक–दुई डलरको आसा बोकेका, र मानसिक सन्तुलन गुमाएर जथाभावी चिच्याउँदै यताउति हल्लिरहेका अनेकौं प्राणी डीसीमा धेरै देखिए ।
सम्झें, यही ह्वाइट हाउसबाट विश्वका सबैजसो देशमा युद्ध वा विकास, मानव अधिकार वा परोपकारका नाममा खर्बौ डलर बगिरहेको हुन्छ, तर आफ्नो नाकै मुनिका यी अनाथ प्राणीलाई किन बेवास्ता गरिएको होला ! अर्को पाटो सम्झें, हिन्दू दार्शनिक मान्यता अनुसार प्रारब्धलाई कसैले टार्न वा सच्याउन सक्दैन भनिएको यही होला ।
सन् १७९२ मा बनाउन सुरू गरी आठ वर्षमा तयार भएको र १८११ मा गोराहरूको गौरव बृद्धि गर्न ‘ह्वाईट हाउस’ न्वारान गरिएको यो भवन निर्माणमा चैं दासको रुपमा कालाहरूलाई लगाईएको रहेछ । १८१४ को एङ्लो अमेरिकन युद्धमा ब्रिटिशहरूले ह्वाईट हाउसमा आगो लगाईदिए रे । लगत्तै मर्मत गरी सुचारु गरिएको ह्वाईट हाउसमा विभिन्न राष्ट्रपतिहरूले आफ्नो पालामा ‘विङ्’ थप्दै लगेर आज यसमा १३२ कोठा पुर्याईएछ ।
सन् १८०० अघिसम्म अमेरिकी राजधानी निश्चित थिएन । पहिले न्युयोर्क राजधानी रहेकोमा त्यसपछि फिलाडेल्फिया सर्यो । पोटोम्याक नदीको किनारमा अवस्थित, प्रथम राष्ट्रपति जर्ज वाशिङ्टनको नाम दिईएको, सन् १७९१ मा संघीय राजधानीको लागि स्थापित र नगर निर्माण प्रारम्भ भएछ । यसको ऐतिहासिक आकर्षण, सुन्दरता, भव्यता र गरिमाको कुरै गर्नु परेन । अर्को असाधारण र विराट भवन, ‘क्यापिटोल हिल’ (कांग्रेस हाउस) को निर्माण सन् १७९१ मै सुरु भयो रे । राजधानी निर्माणको सिलसिलामा ह्वाईट हाउस वरिपरि र त्यो सँगसँगै निर्मित त्यस्तै अनेक भव्य र विशाल भवनहरू आज पनि जस्ताको त्यस्तै छन् । यी भवनलाई ‘हाउस’ भनिन्छ तर ‘प्यालेस’ भनिदो रहेनछ !
बाबु ऋषभको सम्पूर्ण योजना, व्यवस्थापन र ड्राईभिङ्मा आतेजाते एघार सय कि.मि.को यात्रा पूरा गर्न ग्रीन्सबोरो सिटी (नर्थ क्यारोलाईना) बाट सबेर सवासात बजे सुशीला, छोरा र म, प्रस्थान गरियो ।
तीन घन्टाको लगातार ड्राईभिङ्पछि रिचमण्ड (भर्जिनिया) मा कफी र नास्ता खान पुगियो । त्यहाँ पुग्दा हाईस्कूलमा पढेको रिचमण्ड सम्झें ! बुकर टी. वाशिङ्टनको आत्मकथाको एक अंश ‘माई स्ट्रगल फर एन एजुकेसन’ (शिक्षाको लागि मेरो संघर्ष) शीर्षकको सो आत्मकथामा उनी, कोइलाखानीको एउटा अदना मजदूरले ह्याम्प्टन नर्मल एन्ड एग्रीकल्चरल इन्स्टिच्यूटमा पढाईको लागि कति हण्डर, ठक्कर र यातना सहेर भर्जिनियाको रिचमण्ड पुगेको मार्मिक विवरण उल्लेख गरेका थिए । त्यो पढेपछि मलाई रिचमण्ड बारे कौतुहल एकदमै जागेको थियो ।
दिउँसो साडे एक बजे वाशिङ्टन डीसी पुगियो । ह्वाईट हाउसबाट दश मिनेट हिंडाईको दूरीको स्टेट प्लाजा होटलमा झोला–सोला राख्ने बित्तिकै वरिपरिका ऐतिहासिक निर्माणको चक्कर लगाउँदा थाकेर लखतरान भईयो । एक इन्डियन रेस्टुराँमा खाना खाएर होटल फर्केपछि निदाएको बिहान ७ बजेमात्र निद्राले छोडेछ । भोलीपल्ट फर्किदा प्रिय भाई इन्दूभूषणको घरमा आत्मीय भेटघाट र विहानको खाना खाएर ग्रीन्सबोरो फर्किईयो ।
………..
मंगलबार, १२ बैशाख २०८०
ग्रीन्सबोरो, नर्थ क्यारोलाईना (USA)