माओवादी शिविरमा भएको भ्रष्टाचार इतिहासकै ठूलो भ्रष्टाचार हो

Bijay Gyawali १५ बैशाख २०८०, शुक्रबार १७:२१

माओवादी शिविरमा भएको भ्रष्टाचार इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार थियो। “हाम्रो लड़ाकू सङ्ख्या जम्मा सात हजार थियो । हामीले साँचो बोलेको भए र यति नै देखाएको भए अनमिनले प्रमाणित गर्दा जम्मा ४ हजार बाँकी हुने थियो । तर हामीले बठ्याइँ गरेर तीस हजार देखायौँ । बालबच्चा, बुढाबुढ़ी र नागरिकता नभएकाहरू कटाएर पनि २१ हजार त कायम भयो !”

यो कसैको आरोप नभएर प्रचण्डले शक्तिखोरमा रहेको माओवादी शिविरमा आफ्नै लड़ाकूहरू सँग साझा गरेको तथ्य हो । यसरी १७ हजार ‘फेक’ लड़ाकू देखाएर बर्सौंसम्म राज्यबाट अरबौँ रुपियाँ असुलेको तथ्य उनले नै स्वीकार गरेका हुन् । ती फेक लड़ाकूहरू राष्ट्रिय सेनामा समेत समायोजन भए ।

यसरी २१ हजार ‘लड़ाकू’ले लामो समय शिविरमा बसेर तलबभत्ता, रासनपानी र लत्ताकपड़ामात्रै बुझेनन् जाने बेला घरजम गरेर बस्न पुग्ने चेक पनि बोकेर गए । आँखा चिम्लेर सरकारले पैसा खर्च गर्यो । प्रचण्डले गर्व गर्दै भनेका थिए, कांग्रेस र एमालेमा हाम्रो आतङ्क कायम छ, हामीले जे भन्यो त्यो हुन्छ ! सरकारले बाँडेको चेक माओवादी नेताले खोसेर खाएको भन्दै तिनै लड़ाकू आन्दोलनमा आएको त देख्नुभएकै होला । माओवादी शिविरमा भएको भ्रष्टाचार इतिहासकै ठूलो भ्रष्टाचार हो भनेर तत्कालीन माओवादी नेताले नै बारम्बार भन्दै आएका छन् ।

अब अयोग्य लड़ाकू भनेका को हुन् ? तीस हजारमा २१ हजार त योग्य भनिएकै थिए । यसको अर्थ बास्तविक सङ्ख्याभन्दा १७ हजार बढ़ी त उहिल्यै योग्य भएर भागशान्ति हात पारिसके । कतै झूटमुट रूपमा तीस हजार देखाइएका मध्ये नौ हजार त होइनन् अयोग्य भनेका ? अब तिनलाई पनि चेक बाँड्ने ? असुरक्षा, आतङ्क, बलजफ़्ती, चन्दा र लूटपाटले ढाई करोड़ जनता प्रताड़ित थिए । दिनहुँ जसो हुने नेपाल बन्द र ढुङ्गामूढा, सुतली र प्रेसर कुकर बमले गर्दा कति महिला प्रसव व्यथाले छटपटाउँदै एम्बुलेन्ससम्म नपाएर मृत्युवरण गरे । तिनलाई के चेक दिने होला ?

ती अयोग्य मध्ये कतिपय बास्तविक लड़ाकू पनि होलान् । तर तिनको ठाउँमा जानाजान नेपाली सेनामा जाने नक्कली लड़ाकू, तलबभत्ता र चेक बुझ्ने नक्कली जनसेना दोषी कि राज्य दोषी ? क्यान्टोनमेन्ट सञ्चालनका नाममा राज्यलाई ठगेर अरबौं निकासा लिँदा माओवादीले किन बाहिर परेका केही हजारलाई उतिबेलै राहत दिएन ? छोरी बुहारीलाई दिने टिकट तिनैलाई दिएको भए तिनले तलबी सेवा गरी रहेका हुने थिए । आज राजसी जीवन बिताइरहेका माओवादी सर्वहारा नेताहरूको आयस्रोत के हो ? के देशका लागि लडेको र राजनीति गरेको दाबी गर्ने माओवादी सांसदले तिर्ने लेवी र तलबबाट ती अयोग्यलाई राहत दिन सकिन्न ?

कतिपय अयोग्य भएको १७ वर्ष पनि उमेर नपुगेर हो भनिन्छ । हिंसात्मक सशस्त्र युद्धमा बालबालिका प्रयोग गर्नु युद्ध अपराध हो । अपराधमा कारबाही हुनुपर्दैन ? त्यसै पनि राज्यलाई ढाँटेर ढुकुटी अपचलन गर्नु अपराध होइन ?

दश वर्षे माओवादी द्वन्द्वमा १७ हजार नागरिकले त ज्यान नै गुमाएका छन् । कति धेरै भौतिक पूर्वाधार क्षति भएको छ । सुरक्षाका नाममा दर्जनौं मेलम्ची बनाउन पुग्ने बजेट ध्वस्त भएको छ । हरेक पुण्टे नेतालाई समेत सयौं प्रहरी र सेनाले सुरक्षा दिएको याद होला । कति धेरै नागरिक विस्थापित, अङ्गभङ्ग र मनोरोगी भएका छन् । कति धेरै उद्योग र व्यवसाय चन्दा तिर्न नसकेर र शान्ति सुरक्षा नभएर बन्द भए। कति रोजगारी गुम्यो । देश दशकौं पछि परेको छ । तर, शान्तिसम्झौतापछि पनि जनसेनाका नाममा जति राज्यकोष खर्च भएको छ, त्यसले पूर्वपश्चिम रेलको आधा काम सजिलै गर्न सकिन्थ्यो ।

त्यसै पनि फल लाग्छ कि लाग्दैन थाहा नभएको गणतन्त्रका लागि देश र नागरिकले ठूलो मूल्य चुकाई सकेका छन् । त्यसैका लागि विगत पचास वर्षयता आन्तरिक मामिलाका लागि दिल्लीमा शरण परेर सम्झौता गर्न पर्यो । १५ वर्षमा देश सिङ्गापुर बनाउने नारा थियो, यी १५ वर्ष माओवादी कुनै न कुनै रूपमा सत्तामैं छ तर देश झिंगापुर जस्तो बनेको छ । गणतन्त्र नआएको भए यसभन्दा बढ़ी बेहाल अरू के नै पो हुन्थ्यो र भन्ने धेरैलाई लागेको छ ।

दुई चार लाखको कुरो होइन, कुरो नियत र व्यवस्थाको हो । पद्धतिको हो । विष्णु पौडेलले गरेको होस् या जनार्दन शर्माले, देउबाले गरेको होस् या माधव नेपालले, यसका विरुद्ध लड्नु र उभिनु नागरिक कर्तव्य हो !

नारायण गाउले

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६