काठमाण्डौ – नेपाली कांग्रेसले स्वर्णिम वाग्ले अर्थमन्त्री भएको सह्य नहुने बताएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने लगभग पक्कापक्की भएपछि सत्तारुढ दल नेपाली कांग्रेस पनि छलफलमा छ।
प्रधानमन्त्री प्रचण्डले काँग्रेसको भागमा परेको र अहिले रिक्त रहेको स्वास्थ्य मन्त्रालय, माओवादीको भागमा परेको गृह मन्त्रालय र अर्को एक शक्तिशाली मन्त्रालयसहित रास्वपालाई सरकारमा सहभागी गराउनेगरी तयारी गरेपछि काँग्रेसले आन्तरिक छलफल थालेको हो ।
प्रचण्डले रास्वपालाई गृहको सट्टा काँग्रेसको भागमा परेको अर्थ मन्त्रालयको प्रस्ताव गर्ने तयारी गरेका थिए । तर नेपाली काँग्रेसका नेताहरुले भने रास्वपालाई अर्थ मन्त्रालय दिएको खण्डमा पार्टीले नेपाली काँग्रेस छोडेर रास्वपाबाट सांसद बनेका स्वर्णिम वाग्लेलाई मन्त्री बनाउने र त्यो काँग्रेसलाई सह्य नहुने भन्दै विमती जनाएका थिए।
- तनहुँ -१ मा स्वर्णिम वाग्ले शानदार रुपमा बिजयी
- उपप्रधान एवं गृह मन्त्रालयसहित रास्वपा सरकारमा जाने तयारी
- अब उम्मेदवार उठाउँदा सोच विचार गर्नुपर्ने अवस्था आयो : महामन्त्री थापा
नेपाली कांग्रेस नेताहरुले रास्वपालाई सरकारमा ल्याउने कुरामा कुनै पनि समस्या नरहेको तर स्वर्णिम वाग्लेलाई मन्त्रीका रुपमा स्वीकार्न नसक्ने र रवि लामिछानेको सबै जिम्मा पनि प्रचण्ड स्वयमले लिनुपर्ने तर्क गरेका थिए ।
काँग्रेस नेताहरुको छलफलमा स्वर्णिम वाग्लेसँग हारेका गोबिन्द भट्टराईलाई कसरी कहाँ सेटल गर्ने भन्ने विषयमासमेत छालफल भएको एक नेताले जानकारी दिएका छन् । छलफलका क्रममा काँग्रेस नेताहरुले अर्थ मन्त्रालय छोड्न नहुनेतर्फ विशेष जोड दिएका थिए । गृह पनि नपाउने र अर्थ पनि नपाउने स्थितिमा काँग्रेस सरकारमा रहनुको खास औचित नहुने बताउँदै नेताहरुले नेपाली काँग्रेसले अर्थ मन्त्रालय छोड्न नहुने तर्क गरेका थिए ।