काठमाण्डौ – नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा द्वन्दबिज्ञको रुपमा समेत चिनिने इन्द्रजित राई पक्राऊ परेसंगै लहरो तान्दा पहरो गर्जिएको छ।
राई तत्कालिन गृहमन्त्री रामवहादूर थापा गृहमन्त्री हुँदा गृह मन्त्रालयका सुरक्षा सल्लाहकार पनि थिए।
राईसँगको मिलेमत्तोमा कम्तीमा १४५ जना नेपालीको नाम नक्कली भुटानी शरणार्थीका रुपमा भेटिएको स्रोतले जनाएको छ।
हालसम्म प्रहरीमा २१ जना भन्दा धेरैले उक्त गिरोहविरुद्ध जाहेरी दर्ता गराएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरले जानकारी दिए। उनका अनुसार ८१ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।
प्रहरीले बादलपछि गृहमन्त्री बनेका बालकृष्ण खाँणको नाम पनि संलग्न भएको हुनसक्ने अनुमान गरेको छ। प्रहरी उच्च स्रोतका अनुसार उनको पालामा पनि चलखेल गरेर अनुसन्धान प्रभावित पार्ने प्रयास गरिएको थियो।
इन्द्रजित राई २०७४ साल फागुन १४ देखि २०७८ साल असार २८ सम्म रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा सल्लाहकार थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट भएको अनुसन्धानको प्रतिवेदनका आधारमा राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
- अमेरिकी उपमन्त्री नेपाल आएर तिब्बती शरणार्थीहरूलाई उक्साउने काम गरिन् : ओली
- नेपालमा ११ मुलुकका शरणार्थी, हैसियत माग गर्दै आठ वर्षदेखि पटक–पटक धर्नामा
- अमेरिकाको ‘मानव अधिकार मुकुण्डो’
त्यस्तै उक्त प्रकरणमा बुधबार उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन्।
पक्राउ पूर्जी जारी गरिएका सचिव पाण्डे बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा उपस्थित भएको काठमाडौँ प्रहरी प्रमुख एसएसपि दानबहादुर कार्कीले बताएका छन्। पाण्डे पूर्व गृहसचिवसमेत हुन्।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १० देखि ४५ लाख रुपैयाँसम्म असुली गरेको गिरोहसँग मिलेमतो देखिएपछि उनीविरुद्ध मंगलबार पक्राउ पूर्जी जारी भएको थियो । उनलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।
त्यस्तै तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो।
तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसमेत रहेको गिरोहलाई हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीले सहयोग गरेको पुष्टि भएको छ।
गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोड रुपैयाँको चेक पनि प्रहरीले बरामद गरेको छ। साथै यस घट्नामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा पनि तानिएका छन्। उनीविरुद्ध पनि प्रहरीले पक्राउ पूर्जी जारी गरेर खोजी थालेको छ।
त्यस्तै प्रकरणमा आफ्नो नाम पनि जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले राष्ट्रपति र उपराष्ट्रपतिलाई भेटेका छन्। गिरोहमा संलग्न भेटिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानका क्रममा प्रेम राईको पनि नाम लिएपछि राईले बुधबार राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गरेका हुन्।
यस घट्नामा एकपछि अर्को व्यक्तिको नाम जोडिएपछि लहरो तान्दा पहरो आएको चर्चा चल्न थालेको छ।
तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार, एमाले सचिव रहेका टोपबहादुर रायमाझी, उनका छोरा, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा लगायतका उच्च पदस्थ व्यक्तिहरुको समेत संलग्नता देखिएपछि गृह प्रसाशनमाथि नै प्रश्न उठेको छ। उच्च पदस्थ अन्य व्यक्तिहरुकोसमेत नाम यस घट्नासँग जोडिएको स्रोतले जनाएको छ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुलाई पक्राउ गरेको तीन दिनपछि मोरङका सागर राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरूले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी परेको थियो।
सरकारले तेस्रो मुलुक जान छुटेका भुटानी शरणार्थीको प्रमाणीकरणका लागि २०७६ साल असार २९ गते पूर्वसहसचिव पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।
त्यसको प्रतिवेदनको अनुसूचिमा नाम थपेर अमेरिका पठाइदिने भन्दै झापा, मोरङ, सुनसरी, कास्की, बाग्लुङ लगायतका जिल्लाका मानिसहरुबाट रकम असुली गरेको पाइएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकामध्ये दुलाल कांग्रेस नेतृ सुजाता कोइराला परराष्ट्रमन्त्री भएका बेला उनको निजी सचिवालयमा काम गर्ने खुलेको छ।
झापाको बेलडाँगी र मोरङको पथरी शिविरमा अझै ६ हजार ३ सय ६५ भुटानी शरणार्थी बाँकी रहेको विवरण छ । अरु शरणार्थी अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायतको मुलुकमा पुनर्वासका लागि गइसकेका छन् ।