जागरण न्यूज नेटवर्क ( जे एन एन ) नेपालका उच्च नेताहरूका कर्तुत खुल्न थालेपछि भुटानी शरणार्थी भने आफ्नै देश पनि फर्किन नपाईने हो कि भन्ने त्रास उत्पन्न भएको छ।
अहिले नेपालका उच्च तहका नेताहरूले शरणार्थी मामिलामा करोडौँ रकम उठाई भ्रष्टाचार गरेका समाचार सार्वजनिक हुन थालेका छन्। यो क्रम उच्च नेताहरूसम्मै पुगेको छ। यो लहरो गिरिजाप्रसादसम्म तानिने शरणार्थीहरू नै सङ्केत गर्छन्। कूटनीतिक वार्तादेखि विविध कुरा यसमा तानिने रहेछन्।
नेपालका नेताहरू आफ्नै मतदाता र देशप्रति नै विश्वासघात र गद्दारी गर्छन्। त्यो तपाईं हामी सबैलाई थाहा छ।
यस्ता घटना सार्वजनिक हुन थालेपछि नेपालका नेताहरूबाट आफूमाथि झन् दुःख थपिन्छ कि भन्ने उनीहरूले आशङ्का गर्न थालेका छन्। हामीले समाचार बनाउने निहुँमा फेरि कतै अर्को दुःख त थपिरहेका छैनौँ।
हाल झापामा रहेका भुटानी शरणार्थी अमेरिका‚ अष्ट्रेलिया‚ क्यानडा‚ बेलायत‚ नर्वे जस्ता मुलुक जान नमानेका व्यक्ति हुन्। जसरी भए पनि भुटान फर्कन पाउनुपर्ने उनीहरूको माग छ। नभए बरु झापामा ज्यान गुमाउन तयार छन्।
सक्कली शरणार्थी छुटे, नक्कली उडे
राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए । तर उड्ने बेला यी अन्तरेका ठाउँमा अरु कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो थाहा भयो ।
‘म भुटानको दागाना जिल्लाबाट बुबाआमाका पछि लागेर सन् १९९२ मा बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थपाले सुनाए, ‘यतै पढियो, बढीयो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही शिविरमा सन् २०१२ मा वित्नुभयो ।’
बीचमा मोतीलाल भारतको मणिपुर गएर गाईपालनमा लागे । सन् २०१५ को अन्त्यतिर एक दिन फेसबुक खेल्दा मात्रै बहिनी दिल्लीमायाबाट मोतीलाले थाहा पाए, घरपरिवारकै अमेरिकी पुनर्वासबारे । ‘कुदेर शिविर आइपुगे ।’ मोतीलाले सुनाए, ‘शिविरको व्यवस्थापन समिति र शरणार्थी आयोगले भरेका कम्प्युटरको लगबुमा हेरिहेरें । कतै मेरो नाममा फोटो खाली राखिएको थियो, कतै मोतीलाल थापा अमेरिका गइसकेको भनेर अर्कैको तस्बिर देखाइयो ।’ शिविरमा भेटिएका यस्ता थुप्रै युवायुवतीको पीडा र कथा पनि उस्तै छ।
नौजवान आफन्तजति बिदेश, बृद्धबृद्धाहरु शिविरमा
शरणार्थीसम्बन्धी उच्चस्तरीय आयोग (यूएनएचसीआर)ले भुटानी शरणार्थी लाई तेस्रो देशमा पुनर्वास गराउन थालेपछि त्यहाँ बस्ने कतिपयका सबै आफन्त परदेशीए त कतिपय शिविरमैं।
दिपक गिरी १३ वर्षयता एक्लै रहिआएका छन। आफन्त कोही छैनन् । अरू समय त यसो निर्माणको काममा गयो । दुई चार पैसा ल्यायो । त्यही पैसाले दालभात पकायो खायो । तर, चाडबाड लागेपछि उनको मन भक्कानिन्छ । सम्झनाहरू आँखा अगाडि आउँछन् । उनले भने, सात समुद्र टाढाका आफन्तसँग बर्सौँ टाढिएर बस्नुको पीडा जसले भोगेको छ उसलाई मात्र थाहा हुन्छ ।
भुटानबाट शरणार्थी भएर नेपाल छिर्दा उनी १८ वर्षका थिए। स–परिवार ट्रकमा कोचिएर नेपाल आएको स्मरण दीपकसँग ताजै छ। शरणार्थी जीवन, ठूलो परिवार धान्न गाह्रो भएपछि परिवारको जेठो छोरो दीपक कमाउनका लागि भारतको गुजरात गए । उसबेला चिठीबाहेक खबर आदानप्रदान गर्ने माध्यम थिएन । यूएनएचसीआरले उनी गुजरात भएकै बेला शरणार्थी परिचयपत्र बनायो । उनले फोटो खिच्न पाएनन । फोटो नखिचेका पारिवारिक सदस्यलाई यूएनएचसीआरले पुनर्वास गराएन ।
गिरी मात्र होइन, ४७ वर्षीय विनोद सुवेदीको पीडा झनै टिठलाग्दो छ । आमाको एक्लो छोरो । बुबा बितेपछि उनी सानैमा टुहुरो भए । शरणार्थी भएर नेपाल आएपछि कमाउनका लागि भारतको बैङ्ग्लोर हान्निएका विनोद पनि फोटो खिच्ने बेलामा छुटेका थिए । विनोदकी आमा अहिले अमेरिकाको ओहायोमा बस्छिन। विनोदले भने, सुरुमा श्रीमती र आमालाई खुसी राख्न कमाउनका लागि बैङ्ग्लोर गएँ । सोही कारणले फोटो खिच्न छुट्यो । म जान नपाउने भएपछि श्रीमतीले छोडपत्र दिएर आफू छोरीलाई पनि साथ लिएर अमेरिका हिँडिन् । सानैमा बुबाको मृत्यु, आमासँग छुटिनु, श्रीमतीसँग छोडपत्र हुनु अनि अहिले एक्लो जीवन बिताउनु विनोदका लागि कष्टप्रद छ । अझ चाडबाड आएपछि विनोदलाई सम्हालिनै गाह्रो हुन्छ।
सानै उमेरमा आमाले खोजेर बिहे गरिदिएकी केटीले छोडेपछि विनोदलाई फेरि बिहे गरौँ भन्ने पनि लागेको छैन । उनले भने, कुन दशैँ, कुन तिहार वास्तै लाग्दैन । बाबुबाजेले मान्दै आएको पर्व भएकाले एक जना सुवेदी दाईसँग चारगेडा अक्षता टाँसेर आउँछु ।
४० वर्षीय हिमा कार्की पनि १३ वर्षदेखि शिविरमा कहिले छोरा छोरीले बोलाउँछन् र उतै जाऊँ भनेर बाटो कुरिरहेकी छिन। उनी भन्छिन, आफन्त भन्ने कोही छैन । भएका कोही भुटानमै छन् । कोही अमेरिका, कोही अस्ट्रेलिया कोही डेनमार्क । हिमाका बाबुआमा अमेरिकाको कोलोराडोमा बस्छन। दुई छोरी र एउटा छोरा बाबुआमा सँगै छन् । घरपट्टिका कोही भुटानमा छन् । कोही डेनमार्कमा । श्रीमान् कान्छी श्रीमती लिएर बेपत्ता भएको २२ वर्ष भयो । सानै उमेरमा विवाह बन्धनमा बाँधिएकी हिमाले भनिन, चार दाजुभाइ थिए, एउटा कमाउन कोइलाखाद गएको उतै हरायो । एउटा डेनमार्कमा छ । दुई भाइ अमेरिकाको कोलोराडो बस्छन् । रुँदारुँदै आँसु सकिए । आफ्नो भाग्य नै खोटो सम्झियो, बस्यो । उनले थपिन, छोराछोरी अमेरिका आउनु भन्छन् । उडेर जान सक्दिनँ । फोटो खिच्ने बेलामा शिविरमा थिइनँ र लगेन । उनले चाडबाडमा सबैभन्दा आफन्तको याद आउने बताईन।
खासगरी काम गर्न शिविर छोडेर हिँडेका युवा र गैरशरणार्थीसँग विवाह गरेका महिलाहरू शरणार्थीको सूचीबाट हटेका छन् । जसको सङ्ख्या एक हजार ६४१ रहेको छ । पथरीशनिश्चरे शिविरका क्याम्प सचिव चम्फासिंह राईका अनुसार शरणार्थीलाई अहिले दैनिकी चलाउनसमेत कष्ट भएको छ ।
सङ्घर्ष र अभाव खेपेर भुटानी शरणार्थी शिविरको छाप्रोभित्र जिन्दगी चलाएका भुटानी शरणार्थीहरू अहिले भन्छन्, शरणार्थीले कहिल्यै हाँसेर जीवन बिताउन नपाउने रहेछन् । हालसम्म एक लाख सात हजार ९४९ जना शरणार्थीको पुनर्वास भइसकेको छ ।