नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने `धन्दा´ नै चलाएर मोटो रकम असुल्दै आएका नेपालका हाईप्रोफाईल नेतादेखि कर्मचारीसम्म एकाएक मुछिएर आएपछि नेपालको राजनीति मात्र तरंगित बनेको छैन, अन्तर्राष्ट्रियस्तरमैं नेपालको छविलाई लज्जास्पद स्तरसम्म पुर्याईएको छ।
यस्तोखाले धन्दामा पूर्व उपप्रधानमन्त्री एवं उर्जामन्त्रीसमेत रहेका टोपबहादुर रायमाझी, उनका छोरा सन्दिप रायमाझी, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, गृहमन्त्रालय हुँदै हाल उपराष्ट्रपति कार्यालयमा पुगेका सचिव टेकराज पाण्डेलगायतका उच्चपदस्थ अधिकारीहरुसंगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभनसहित युवाबाट रकम असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सन्देश शर्मा, सानु भण्डारी, सागर थुलुङ राई र टंक गुरुङ पनि पक्राउ परिसकेका छन्।
यस्तै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाईदिने प्रलोभनमा पारी पैसा असुल्ने धन्दामा हाईप्रोफाईलमा गनिने टोपबहादुर रायमाझीलाई पनि पक्राऊपुर्जी जारी भएता पनि उनी हाल फरार रहेका छन भने प्रहरी अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड पनि यस काण्डमा मुछिएर आएका छन।
माओवादी छाडेर एमालेमा गएका एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीको नक्कली भुटानी शरणार्थी काण्डमा नाम जोडिएपछि उनीबिरुद्ध पक्राऊ पुर्जी जारी भएयता एमालेकै अध्यक्ष केपी शर्मा ओलीको चलखेल भने अस्वाभाविक नै देखिन्छ।
लहरो तान्दा पहरो गर्जिने भयले नै भन्नुपर्छ टोपबहादुर रायमाझी उक्त काण्डमा मुछिएपछि ओलीको चलखेल निकै शंकास्पद लाग्ने गरेको छ। एमालेसंगको सहकार्य टुटेर कांग्रेससंगको सहकार्यमा गठवन्धन बनाएपश्चात बालकोट- बालुवाटारबिच खासै रुचीपूर्ण संवाद एवं भेटघाट नभएको अवस्थामा टोपबहादुर यस काण्डमा मुछिएर आएपछि दूईदिनको अन्तरालमा केपी ओलीले दुई/दूईपटक बालुवाटारमा गई प्रधानमन्त्री दाहालसंग घण्टौं छलफलमा बिताएका छन।
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाँडलाई कांग्रेसले कोखी च्यांपेको ओलीको आरोप
- एमाले अध्यक्ष ओली भन्छन – टोपबहादुर रायमाझीलाई षड्यन्त्रपूर्वक फसाईएको छ
- यी भुटानी शरणार्थी जो आफ्नै देश फर्किन खोजेका छन, नेताका कर्तुतले झनै समस्यामा परे
प्रधानमन्त्री दाहालसंगको पहिलो भेटघाटपछि बाहिर निस्किएका ओलीले संचारकर्मीहरुको जिज्ञासामा रायमाझीको बंचाऊ गर्दै निर्दोष भन्न समेत भ्याएका थिए। सार्वजनिक रुपमैं रायमाझी निर्दोष रहेको र उनीमाथी पक्राऊपुर्जी जारी गरिनु गम्भीर षड्यन्त्र रहेको बताऊँदै रायमाझीको बंचाऊमा उत्रिएका ओलीले दोस्रो भेटघाटपश्चात यस घटनासम्बन्धि सार्वजननिक प्रश्नको उत्तर दिनबाट भने पन्छिएका छन।
उपप्रधानमन्त्रीजस्तो पदमा पुगिसकेको मान्छे, त्यसमाथी बारम्बार देश र पार्टिको नेतृत्त्वदायी भूमिकामा रहेको मान्छेलाई पक्राऊ गर्नुपर्छ र? आफै उपस्थित भैहाल्छन नि भन्दै रायमाझीको बंचाऊ गरेका ओलीले दोस्रो भेटघाटपश्चात भने आफ्नो सम्पर्कमा नरहेको, तपाईंहरु नै खोज्नुस न भन्दै संचारकर्मीबाट सोधिएको प्रश्नबाट पन्छिएका थिए।
यता, पक्राऊपुर्जी जारी हुँदासम्म अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसंगै सुरक्षा घेरामाझ रहेका रायमाझी अचानक भैरहवाबाट `फरार´ रहेका छन। काटिसकेको टिकट रद्द मात्र गराएनन, मोवाईल नै स्विच अफ गरेर आफू चढ्दै आएको गाडीलाई काठमाण्डौ पठाएर उनी भैरहवाबाटै फरार भएका हुन।
रायमाझी बंचाऊन केन्द्रमा केपी ओलीको अस्वाभाविक चासो र चलखेलसंगै हाईप्रोफाईल भनिएका नेता आफै सम्पर्कमा नआएर बिच बाटोबाटै फरार हुनुलाई पनि एमालेले संरक्षण दिएर राखेको प्रष्ट बुझ्न सकिन्छ। रायमाझीबिरुद्धको मुद्दा सामसुम पार्न ओलीले निकै जोडबल गरेको प्रतीत हुन्छ।
स्मरण रहोस, नेपालमा जहिले पनि काण्डहरु बाहिर आऊँछन र त्यसमा एमालेसंग जोडिएका हाईप्रोफाईल ब्याक्तिहरु मुछिन्छन त्यस्तो अवस्थामा एमाले अध्यक्ष केपी ओली खुलेरै तिनको बंचाऊमा लागेको देखिन्छ। गोकुल बाँस्कोटा सोझै जोडिएर आएको सेक्युरिटि प्रीन्टिङ्ग मेसिन खरिदमा ७० करोड घोटालाको अडियो काण्डमा होस या बिष्णु पौडेल मुछिएर आएको बालुवाटार जग्गा काण्ड नै किन नहोस, ओलीले छानविनको साटो तिनै पात्रलाई काखी च्यांपेर छानविन नै प्रभावित हुनेगरि बंचाऊ एवं चलखेल गर्नेगरेका छन।
यतिमात्र होईन, वाईडबडी काण्ड, यति ओम्नी प्रकरण, मेडिकल सामाग्री खरिद तथा गुठी प्रकरणमा पनि ओलीले आफ्ना दलका नेतालाई भरपुर संरक्षण गर्दै खुलेआम उनीहरुको प्रतिरक्षामा उंभिएका थिए।
संसदीय समितिले वाईडबडी काण्डमा कारवाही सिफारिस गरेका पात्र हुन प्रेम राई। जो अहिले मानव तस्करको यत्रो भयानक काण्डमा जोडिएर आएका छन। तर, ओलीले संसदीय समितिको निर्णय मान्य नहुने भन्दै राईलाई कारवाही गर्नुको साटो उल्टै अख्तियारजस्तो संवेदनशील निकायको प्रमुख बनाएर पुरस्कृत गरे। छानविन गरि कारवाहीको दायरामा ल्याऊनुपर्ने ब्याक्तिलाई नै भ्रष्टाचार छानविन गर्ने निकायको प्रमुखमा नियुक्त गर्दा नै ओलीको मनसाय प्रष्ट बुझिन्थ्यो।
देशको नेतृत्त्वदायी भूमिकामा रहेर बारम्बार सत्ता संचालन गरिसकेका ब्याक्तिबाट नै मानव तस्करको यतिठूलो संजाल निर्माण गरि आम नागरिकबाट खुलेआम पैसा असुल्ने धन्दा जति निन्दनिय छ, त्यति नै लज्जास्पद पनि। यसले देशको छवि अन्तर्राष्ट्रियस्तरमैं धुलीसात् बनाएको मात्र छैन, अन्तर्राष्ट्रियस्तरमा शरणार्थी समस्या समाधानमा नेपालको लविङलाई अब निकै कमजोर बनाएको छ। नेपालको विश्वसनीयतामाथी नै प्रश्नचिन्ह उठेको छैन, नेपालले प्राप्त गर्ने बैदेशिक सहायतामा समेत यस प्रकरणले गम्भीर धक्का लाग्नेछ।
अझ बिडम्वनाको कुरा त के भने सप्रमाणसहित पुष्टि भएर छानविनको दायरामा तानिएका ब्याक्तिलाई नै शिर्ष नेतृत्त्व तहले उनीहरुको बंचाऊका लागि प्रतिरक्षाको तहसम्म ओर्लनु लोकतन्त्र,सुशासन र भ्रष्टाचाररहित अभियानमा निकै ठूलो धक्का हो भने नेतृत्त्व तहबाट गरिएको हदैसम्मको घृणित एवं निकृष्ट कार्य हो।
घटनालाई अतिरन्जित गरि राजनीतिकरण गर्ने, सत्ता हेरफेर एवं छानविन गरिरहेका निकायलाई प्रभावित पारी सरुवाबढुवाको प्रयत्न गरि घटना सामसुम पार्ने नेतृत्त्व तहको यो निकृष्ट रवैयाले नेताले केहिक्षण आत्मरति त लेलान, तर देश र जनताको लागि भने सदैव बिडम्वनाको बिषय बनिरहनेछ। देश र जनता सदैव अंध्यारोमैं पिल्सिरहनेछन। नेतृत्त्वको यो हदसम्मको अस्वाभाविक चलखेल अत्यन्त खेदजनक छ।
twitter.com @jagaranpost