काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका लीग स्पिनर सन्दिप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आइतबारलाई तोकिएको छ।
गत ११ वैशाखमा मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेशी आजका लागि तोकिएको छ।
बलात्कार आरोप लागेका सन्दिप लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ।
गत ११ वैशाखमा इजालासमा सरकारी पक्षका वकिलहरूले ४ घण्टा बढी बहस गरेका थिए। तर न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता नदिएपछि उक्त बहस अर्थहीन भएको थियो।
न्यायाधीश ढकालले सुरुवातमा मुद्दा हेर्दाहेर्दैमा राख्न सक्ने संकेत गरेका थिए। तर अन्तमा उनले माइन्ड चेन्ज गर्दै हेर्न नभ्याइने आदेश गरे। अब आज पुन: अदालतले इजालास तोकेर प्रक्रिया अघि बढाइने छ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पीडित पक्षले पटक-पटक मुद्दाको सुनुवाइमा ढिलाइ गरेको भन्दै मंगलबार बलियो ‘अब्जेक्सन’ सहित अघि बढ्ने बताए।
उनले भने, ‘हामी चाँडो मुद्दाले किनारा पाओस् भनेर लागिरहेका छौँ। तर पीडित पक्षले पटक-पटक मुद्दाको पेशी सार्ने मनस्थितिका साथ प्रस्तुत हुने गरेका छन्। आइतबार हामी बलियो अब्जेक्सनसहित अघि बढ्ने प्रयास गर्ने छौँ।’
- मानवअधिकारकर्मी अन्सारीमाथी सन्दिप र पलका समर्थकद्वारा हमला
- करोडौं क्लवमा सन्दिप, द हन्ड्रेड (१०० बलको फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता) मा सहभागी जनाऊंदै
सन्दीपको मद्दामा २६ चैतमा शंकरराज बरालको इजलासले साक्षीको बकपत्र लिन आदेश दिएको थियो।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पेशी तोकिएपनि पटक-पटक विभिन्न कारणले ढिला हुँदै आएको छ।
सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो।
सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।