काठमाण्डौ – नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बुटवल हुँदै भारत पुगेको प्रहरीले जनाएको छ।
प्रहरीले भारतसम्मै टोली पठाएर खोजीको तयारी गरेको छ भने देशभर नै रायमाझी खोजीका लागि आफ्ना निकायमा परिपत्र गरेको जनाएको छ।
प्रहरीले पक्राउ पूर्जी जारी गरेको एक साता बित्न लाग्दा पनि सम्पर्कमा आउँछु भनेका रायमाझी आएका छैनन् ।
टोपबहादुर रायमाझी ले बुटवलबाट प्रहरी नेतृत्त्वलाई आफूले अनुसन्धानमा सघाउने वचन दिएका रायमाझी त्यहीँबाट फरार भएका थिए ।
उनी भारत पुगेको आशंका गरेका छौँ, उनका परिवारका सदस्यलाई पनि निगरानीमा राखेका छौँ, भारतबाट परिवारलाई सम्पर्क गरेको पाइएको छैन – प्रहरी स्रोतले भन्यो।
प्रहरीले भने भारत पठाएर भएपनि उनको खोजी जारी राख्ने बताएको छ।
प्रहरी अधिकारीले टोपबहादुर रायमाझी र पार्टीका केही नेताहरुसँग सम्पर्कमा रहेको हुन सक्ने आशंका व्यक्त गरे पनि कोसँग भन्ने खुलाउन चाहेका छैनन।
प्रहरीले मुद्दा अदालतमा बुझाएपछिमात्रै आउने तयारी होला, प्रहरी स्रोतले भन्यो, हामीले त्यो अवस्था आउन दिने छैनौँ ।
अघिल्लो साता बुटवलबाट फरार भएका रायमाझी प्रहरीको खोजी सूचीमा रहेका छन् ।
उनको मोबाइल बुटवलमा अफ भएको पाइएको प्रहरी स्रोतले बताएको छ।
प्रहरी स्रोतले दिएको जानकारीअनुसार रायमाझीको फोन ट्रयाक गर्दा बुटवलमा अन्तिम लोकेशन देखाएको र त्यहीँबाट उनले अफ गरेको पाइएको छ ।
उनका चालक र गाडी सम्पर्कमा रहेको भए पनि रायमाझी बुटवलबाट आफ्नै तरिकाले हिँडेको प्रहरीमा जानकारी गराएको स्रोतले बतायो ।
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करिब ८७५ जना नेपालीसँग १० देखि ५० लाखसम्म रकम उठाउन सक्रिय गिरोहसँगको मिलेमतोको आरोप उनीमाथि लागेको छ ।
- नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल
- यी भुटानी शरणार्थी जो आफ्नै देश फर्किन खोजेका छन, नेताका कर्तुतले झनै समस्यामा परे
- एमाले अध्यक्ष ओली भन्छन – टोपबहादुर रायमाझीलाई षड्यन्त्रपूर्वक फसाईएको छ
सो गिरोहमा सक्रिय रहेका उनका छोरा सन्दीप रायमाझीलाई प्रहरीले बुधबार बेलुका नै बुटवलबाट पक्राउ गरेको छ ।
उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, सन्दीप रायमाझी, इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ राई पक्राउ परिसकेका छन्
पक्राउ परेकाहरुको म्याद थप गरेर अनुसन्धान गरिएको छ ।
पक्राउ परेका सानु भण्डारीले दिएको बयानका आधारमा नेकपा एमालेकै उपाध्यक्षसमेत रहेका पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उनकी पत्नी मञ्जु खाँण र आरजु राणा देउवा पनि यो घटनामा मुछिएका छन् ।
पैसा उठाउने गिरोह र पीडितबीच भएको कुराकानीमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाँणलाई पनि पैसा बुझाएको अडियो सार्वजनिक भएको छ ।
उक्त अडियोलाई प्रहरीलाई सुरक्षित राखेको र अनुसन्धान जारी राखेको जनाएको छ ।
केपी शर्मा ओली नेतृत्त्वमा रहेको तत्कालीन सरकारले नेपालमा छुटेका शरणार्थीको समस्या स्थायीरुपमा समाधान गर्न भन्दै कार्यदल गठन गरेको थियो ।
गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको नेतृत्त्वमा बनाइएको समितिमा बाहिरबाट पनि कार्यकर्ता राखेर नेपाली युवालाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने योजना बनाइएको थियो ।
पन्थी नेतृत्त्वको कार्यदलले काम गरिरहेका बेला झापा, मोरङ, सुनसरी, अर्घाखाँची, बाग्लुङ, गोरखालगायतका जिल्लाका गरी ८७५ जना युवाबाट १० देखि ५० लाखसम्म उठाएको पाइएको छ ।
यसैबीच प्रतिनिधिसभा सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन गरि दोषीलाई कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको शुन्य समयमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणको छानविनबाट पछि नहट्न र दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा एमाले सांसद ठाकुर गैरेले नक्कली शरणार्थी प्रकरणको छानविनको अवस्थाका बारेमा सरकारले जानकारी गराउनुपर्ने बताए।
उनले नेपालीलाई भुटानी शरणार्थी बनाउने काम भ्रष्टाचारजन्य जघन्य अपराध मात्र नभएर राष्ट्रघाती कदम भएको भन्दै दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने धारणा राखे ।
माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नक्कली शरणार्थी प्रकरणमा कसैको दवावमा नपरि अनुसन्धान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोशिमा कार्कीले प्रहरीद्वारा पक्राउ पुर्जी जारी गर्दा पनि जोगाउने काम भइरहेको बताइन् ।
उनले यस प्रकरणमा गहिरो अनुसन्धान हुनुपर्ने बताइन् ।