काठमाण्डौ – दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ ।
सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ।
विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रुपैयाँ बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा ७८ करोड पाँच लाख ८१ हजार विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा ४६ करोड नौ लाख ८९ हजार मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले रु २३ करोड चार लाख ८३ हजार राजस्व सङ्कलन गरेको छ।
विशेष गरी हिन्दू महिलाले प्रयोग गर्ने सिन्दुरको आयातमा पनि ठूलो धनराशि खर्च भएको छ । पछिल्लो एक वर्षमा मुलुकमा एक करोड पाँच लाख ६५ हजारको सिन्दुर आयात भएको छ । गत आवमा सिन्दुर भारत र इन्डोनेसियाबाट आयात भएको छ।
विभागका अनुसार गत आवमा तीन अर्बभन्दा बढीको कपाल स्याहारका वस्तु आयात भएका छन् । कपालको स्याहारमा प्रयोग हुने स्याम्पु, तेल, क्रिम, रङलगायत वस्तु आयातमा उक्त धनराशि खर्च भएको हो ।
गत आवमा ६३ करोड २१ लाख ३३ हजार मूल्यको स्याम्पु आयात भएको छ भने ६९ करोड ७७ लाख ७९ हजार मूल्यका कपालमा लगाउने तेल आयात भएको छ । साथै सात करोड ३२ लाख ३८ हजार बराबरको कपालमा लगाउने क्रिम आयात भएको छ ।
त्यस्तै कण्डिस्नर आयातमा १० करोड ४५ लाख ४७ हजार खर्च भएको छ । कपाल रङ्गाउने वस्तु आयातमा ६२ करोड २० लाख ८३ हजार बाहिरिएको देखिन्छ । त्यस्तै कपाल हेरचारका अन्य वस्तु आयातमा ९७ करोड ६१ लाख २० हजार भन्दा बढी रकम विदेशिएको छ ।