एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्।
जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा भनेका छन्, ‘हामी नेपाल र लाओसका प्रतिभाहरूलाई रोजगारी, तालिम र विश्वविद्यालय अनुदान कोषबाट सञ्चालित संस्थानहरूमा अध्ययनका लागि भिसा नीति खुकुलो बनाउने छौँ।’
यो नयाँ नीतिसँगै अब नेपाली इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका प्रतिभाहरूले हङकङमा सहजै रोजगार भिसा पाउने छन्। साथै नेपालीले जुनसुकै क्षेत्रको तालिमका लागि पनि अब हङकङको भिसा पाउने छन्।
जोन लीको नीति सम्बोधनले हङकङका कतिपय नेपाली अलमलमा परेको पाइएको छ। भिसा त खुल्यो तर सन् २००५ मा बन्द गरिएको घरेलु कामदारलगायत सबै भिसा खुलेको हो कि के हो भन्ने अन्योल देखिएको छ। नेपालखबरसँग कुरा गर्दै हङकङमा लामो समय सोलिसिटर रहेका एकनारायण शर्माले यसबारे प्रष्ट पारेका छन्।
‘जोन लीको सम्बोधनबाट नेपाली प्रतिभाहरू– इन्जिनियर, मेडिकल डक्टर, आइटी क्षेत्रका कामदार लगायतका लागि भिसा खोलिएको हो। विद्यार्थी र बढीमा एक वर्षे तालिमका लागि पनि भिसा खोलिएको छ’, शर्माले भने, ‘तर घरेलु कामदार र अरुका लागि होइन।’
सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि हङकङमा रोजगारका लागि नेपालीको प्रवेश बन्द भएको थियो। त्यसअघि हङकङमा खासगरी घरेलु कामदार र रेष्टुरेन्ट क्षेत्रमा नेपालीले रोजगारी पाउँदै आएका थिए।
हङकङमा ब्रिटिश गोर्खा सैनिक परिवारका करिब ४० हजार नेपाली बसोबास गर्दै आएका छन्, जो हङकङका स्थायी बासिन्दा हुन्। सन् २००५ मा नेपाली कामदारका लागि भिसा रोकिएपछि तिनै गेर्खा सैनिक परिवारसँग विवाह सम्बन्ध जोड्ने नेपाली मात्रै हङकङमा बसोबासका लागि आउन पाउँथे।
नजिकको गन्तव्य र आधुनिक विकासको उच्च स्वरुपले गर्दा हङकङ नेपालीका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर हङकङमा नेपालीका लागि भ्रमण भिसा पनि निकै कडा बनाइएको थियो।
तर नयाँ भिसा नीति अनुसार पनि नेपालबाट घरेलु कामदार, रेस्टुरेन्टका कामदार हङकङ ल्याउन पाइने छैन। उनीहरूका लागि भिसा खुलेको छैन। शर्माका अनुसार सन् २००५ मा घरेलु कामदारसँगै तालिममा आउने नेपालीका लागि पनि हङकङमा भिसा रोकिएको थियो। तर अहिले तालिमको भिसा पनि खुलेको छ।
- अस्थायी हङ्गकङ्ग आईडी होल्डरलाई १० हजार डलर राहतको घोषणा
- हङ्गकङ्ग आन्दोलनको अन्तर्य
- हङ्गकङ्गको सुपुर्दगी बिधेयक फिर्ता
‘सन् २००५ मा नेपालीलाई तालिम भिसा पनि रोकिएको थियो, अहिले दिने भनिएको छ। राम्रो कम्पनी भयो भने अब ब्याचलर गरेको नेपालीलाई तालिम भिसामा हङकङ ल्याउन सकिन्छ’, शर्मा भन्छन्, ‘नेपालीलाई तालिम भिसा एकदमै नयाँ हो हङकङमा। पहिला अरु देशकालाई मात्र दिइन्थ्यो।’
पहिला आफुले फ्रेन्च र फिलिपिनोलाई तालिम भिसामा हङकङ ल्याएको स्मरण गर्दै शर्माले भने, ‘हङकङमा कर तिरेको राम्रो कम्पनीले स्पोन्सर गरेको छ भने व्यवस्थापन वा अन्य कुनै पनि तालिम भिसा लगाएर नेपालीलाई हङकङ ल्याउन सकिन्छ।’