‘भावतोऽपि कालतः प्रमाणवदेव नव रतानि’ (कामसूत्र २।१।३०) अर्थात् काल, भाव र परिमाणका आधारमा सम्भोग नौ प्रकारका हुन्छन् । सम्भोगलाई रति अर्थात् मनका भावहरूलाई सूचित गर्ने आनन्दका अर्थमा र सुरत अर्थात् सम्भोगका अर्थमा विभाजन गरिएको पाइन्छ । रति शब्दको पर्यायवाची शब्दका रूपमा रस, रति, प्रीति, भाव, राग, वेग र समाप्ति शब्दको प्रयोग गरिएको छ र यिनले क्रमशः मजा, मैथुन, प्यार, मनको इच्छा, अनुराग, मनको तुफान र अन्तमा आउने रसलाई बुझाउँछन् । त्यसैगरी सुरत शब्दको पर्यायवाची शब्दका रूपमा सम्प्रयोग, रत, रह, शयन र मोहन शब्दको प्रयोग गरिएको छ र यिनले क्रमशः एकसाथ मिल्नु, रमण वा मैथुन गर्नु, एकान्तमा स्त्री र पुरुषको सहवास हुनु, एकसाथ सुत्नु र मोहित गर्नु भन्ने अर्थलाई बुझाउँछन् ।
कामशास्त्री वात्स्यायनले सम्भोग नौ प्रकारका हुन्छन् भने पनि उनले रति र सुरत शब्दका आधारमा १२ प्रकारका सम्भोगको चर्चा गर्न चाहेको बुझिन्छ । तीमध्ये रति, रत र रह शब्दले मैथुनलाई बुझाएको हुँदा तिनलाई एकै किसिमको मान्न सकिन्छ भने प्रीति र अनुराग दुवै शब्दले प्रेमलाई बुझाएको हुँदा तिनलाई पनि एकै किसिमको ठान्न सकिन्छ । स्त्री–पुरुष दुवैले हँसीमजाक गर्नु, स्त्री–पुरुषका बीचमा उत्पन्न हुने मानसिक प्रेम, दुवैका मनको आवेग, एकान्तमा दुवैको एकसाथ भेटघाट हुनु, दुवै एकसाथ सुत्नु, दुवै एकअर्काप्रति मोहित हुनु, दुवैले दुवैको मनको इच्छा बुझ्नु, दुवैका बीचमा मैथुन हुनु र अन्तमा दुवैको वीर्यस्खलन वा धातुक्षय हुनुलाई वात्स्यायनले नौ प्रकारका सम्भोग मानेको देखिन्छ ।
स्त्री र पुरुषको जननेन्द्रियको लम्बाइ, मोटाइ र गहिराइको परिमाण, सम्भोग काल तथा मानसिक भावहरूमध्ये प्रत्येकबाट उत्पन्न हुने नौ नौ प्रकारका सम्भोग हुन्छन् । जब यी सम्पूर्ण भेदहरू एकआपसको सम्मिलनद्वारा उत्पन्न हुन्छन् भने ती सम्भोग भेदहरूको सङ्ख्या यति धेरै हुन्छ कि तिनको गणना नै गर्न सकिँदैन । ‘तेषु तर्कादुपचारान् प्रयोजयेदिति वात्स्यायनः’ (पूर्ववत्, २।१।३३) अर्थात् आफ्नो विचार वा बुद्धिद्वारा आलिङ्गन, चुम्बन आदि क्रियाका आधारमा आफैले तिनको प्रयोग गर्नुपर्छ भन्ने वात्स्यायनको विचार रहेको छ ।
प्रथमपटक स्त्रीका साथ सम्भोग गर्दा पुरुषको वेग अत्यधिक हुन्छ र उसको वीर्यस्खलन छिटै हुन्छ भने त्यसपछि ऊ जतिपटक सम्भोगका लागि प्रवृत्त हुन्छ उसको कामभावना मन्द हुने र वीर्यस्खलन छिटै नहुने भएकाले उसले धेरै बेरसम्म सम्भोग गरिहन सक्छ । स्त्रीहरूको कामभावना भने पुरुषको भन्दा विपरीत हुन्छ । प्रथमपटक पुरुषका साथ सम्भोग गर्दा स्त्रीको कामवासना बिस्तारै बिस्तारै प्रज्वलित हुन्छ र धेरै समयसम्म सम्भोग गरेपछि शान्त हुन्छ । त्यसपछि ऊ जतिपटक सम्भोगका लागि अग्रसर हुन्छे त्यतिबेला उसको कामेच्छालाई शान्त गर्नका लागि पहिलेका तुलनामा धेरै समय लाग्दैन । ‘प्राक् च स्त्रीधातुक्षयात् पुरुषधातुक्षय इति प्रायोवादः’ (पूर्ववत्, २।१।३४) अर्थात् धेरैको भनाइमा स्त्रीको धातुक्षय हुनुभन्दा पहिला नै पुरुषको धातुक्षय हुन्छ । यसबाट पुरुषको कामेच्छा स्त्रीको भन्दा पहिला पूर्ण वा शान्त हुन्छ भन्ने कुराको पुष्टि हुन्छ ।
मृदुत्वादुपमृद्यत्वात् निसर्गाश्चैव योषितः ।
प्राप्नुवन्त्याशु ताः प्रीतिमित्याचार्या व्यवस्थिताः ।।
(पूर्ववत्, २।१।३५)
अर्थात् स्त्रीहरू पुरुषलाई देख्ता छिटै कामोत्तेजित वा मैथुनका लागि तयार हुन्छन् भन्ने बारेमा सबै कामशास्त्रीहरू एकमत देखिन्छन् । यसो हुनुमा मुख्यतः दुई कारण छन् : १. स्त्रीहरू स्वभावैले कोमल प्रवृत्तिका हुन्छन् र २. उपमृदन वा आलिङ्गन, चुम्बन, नखच्छेदन, दन्तच्छेदन आदिका माध्यमद्वारा छिटै नै कामोत्तेजित हुन्छन् । जुन पुरुष कामशास्त्रको जानकार हुन्छन् तिनले स्त्रीको मनोवृत्तिलाई जानेपछि उनीहरूका साथ यस किसिमको व्यवहार गर्छन्, जसका कारण स्त्रीको कामोत्तेजना तत्काल बढ्छ । जुन पुरुष यस ज्ञानबाट अनभिज्ञ हुन्छन् उनीहरूले यस कुराको चिन्तित हुने भएकाले त्यस्ता पुरुषले स्त्रीका सामु लाजले शिर निहुराउनुपर्छ ।
मैथुनद्वारा स्त्री कामोत्तेजित भएपछि पुरुषले वीर्यपात गरेका खण्डमा दुवै शान्त र आनन्दित हुन्छन् । त्यसैले पुरुषले सर्वप्रथम स्त्रीलाई कामोत्तेजित गर्नुपर्छ । यसका लागि प्रेमकहानीहरू सुनाउनुपर्छ । स्त्रीको कपाललाई चुम्ने, स्तनलाई माड्ने, आफ्नो अँगालोको पासोमा कसेर दबाउने, योनिमा बिस्तारै बिस्तारै हात लैजाने, स्त्रीलाई सुगन्धित फूल आदि वस्तुहरू दिने इत्यादिका माध्यमद्वारा जब स्त्रीको कामशक्ति उद्वेलित हुन्छ तब उसका साथ सम्भोग गर्नुपर्छ । यसो गर्नाले पुरुषभन्दा पहिल्यै स्त्रीको कामेच्छाले पूर्णता पाउँछ र पुरुषले पनि आफ्नो कामेच्छा पूर्ण भएको अनुभूति गर्दछ ।
एतावदेव युक्तानां व्याख्यातं साम्प्रयोगिकम् ।
मन्दानामवबोधार्थं विस्तरोऽतः प्रवक्ष्यते ।
(पूर्ववत्, २।१।३६)
अर्थात् जो बुद्धिवादी वा बौद्धिक छन् उनीहरूका लागि साम्प्रयोगिक वा पुरुष र स्त्रीको सम्भोगका विषयमा यस किसिमले सम्पूर्ण गोप्य कुराहरूको वर्णन गरिएको हो । जुन व्यक्तिका साथमा ज्ञान छैन र केवल साधारण बुद्धिद्वारा नै आफ्नो जीवन निर्वाह गरेका छन् उनीहरूका लागि सम्भोग विषयक साधारण कुराहरू विस्तारपूर्वक अगाडि वर्णन गरिनेछ।
र, यो पनि पढ्नुहोस स्त्रीको रतिसुख र धातुस्खलन
(सहप्राध्यापक, नेसंवि, कालिका संस्कृत विद्यापीठ, गैंडाकोट)