भ्रष्टाचारीलाई डोकाले छोप्ने नेकपा र बोकेर हिंड्ने कांग्रेसका चित्र र चरित्र

जागरणपोस्ट २८ माघ २०७६, मंगलवार ०२:२८

राजन कुईंकेल// २०४६ सालमा पञ्चायत व्यवस्था मिल्काएयता राजा ज्ञानेन्द्रको प्रभाव परेको चार वर्षलाई छाड्ने हो भने २५ वर्ष नेपालमा नेपाली कांग्रेस र नेकपा (एमाले/माओवादी)ले नै मिलेर सत्ताभोग गरेका छन् । वर्ष र दिनमा कस्ले घटिबढी गरे त्यो जसलाई चाहिन्छ उसले हिसाब गरुन् । तर २०४६ को जनआन्दोलनताका र २०४८ सालको आमनिर्वाचनमा भोट माग्न जनताका बीचमा पुग्दा यि दलका नेताहरुको हैसियत, जीवनस्तर र आहारविहार कस्तो थियो भन्ने म बबुराले त झल्झल्ती देखेको थियो भने अझै मभन्दा अग्रजहरुले त खेपेकै/व्यहोरेकै विषय हो । हेर्दाहेर्दै यो अढाई दशकमा कांग्रेस र नेकपाका तिनै चप्पल पड्काएर हिंड्ने नेताहरुको आर्थिक, सामाजिक हैसियत परिवर्तन भएर कसरी नवधनाढ्य वर्गमा परिणत भए भन्ने बुझ्न कुनै अनुसन्धान वा पिएचडी गरिरहनु पर्दैन।

ती नेता मात्र होइन तिनलाई सुमेरु पर्वत मानेर प्रदक्षिणा गर्ने तिनका आसेपासे लाउकेहरुको जीवनशैली हेर्दा पुग्छ राज्य कोषमाथि कसरी ब्रह्मलूट मच्चाइएको छ । बिना परिश्रम, उद्यम, बन्द व्यापार, लगानी यो वर्ग कसरी रातारात नवधनाढ्य वर्गमा परिणत भयो ? कसरी यिनैको लाक पाएर जनताले तिरेको करबाट पालिएका कर्मचारीहरुले मुलुकको ढुकुटी लूटे ? कसरी नेता, दलाल, बिचौलिया, घूषखोर, भ्रष्टचारी, माफियाका बीचमा आन्द्रा जोडिए ? यो जनताले आफ्नै अगाडि देखिरहेका छन् । कतिले बोल्न सक्लान् । कतिमा आश र त्रासको त्यान्द्रोले सत्य ओकल्ने साहस नहोला । तर तथ्य र सत्य त दुनीयाँको अघिल्तिर छर्लङ्गै छ । टालेको/छोपेर हिंडेको छु भन्ने ति पात्रहरुको अंग प्रत्यंग ह्वाङ्गै छ।

फरक कति हो भने कांग्रेस भन्ने पार्टीमा ह्वाङ्गै बनाएर खाने शैली देखियो । नेकपा भन्नेहरुले कम्मलले ओढेर घ्यू खाने तरिका जानेको रहेछ । टुँडिखेलबाट एक नम्बरको भ्रष्टचारी घोषणा गर्दा पनि, शिविरकाण्डमा अरर्बौ अरब कुम्ल्याउँदा पनि, सांसद किनबेचमा प्रत्यक्ष लागेको देख्दा पनि, विमानदेखि, राज्यको प्राकृतिक स्रोत साधन नै पच्काउँदा पनि उनीहरु बच्न सिपालु रहेछन् । ऐन मौकामा अनुसन्धानककारी/नियमनकारी निकाय र दण्डाधिकारीमा आफूसमर्थकलाई फिट गर्दा त्यसले गुन तिर्छ भन्ने ज्ञान रहेछ । कर्मचारीसमेत इतर पार्टीका नेता मन्त्री भएर आएका बेला गरेका भ्रष्टाचारका सुराकहरुलाई कसरी प्रमाणका रुपमा जोगाउने भन्नेमा प्रशिक्षित रहेछन्।

हुस्सु कांग्रेसमा यो शैली देखिएन । त्यसैले त कांग्रेसको नेतृत्व आफू जोगिन बारम्बार आफ्नै बन्धुको बली चढाउँदै गएको छ । अर्कातिर विधि र कानुनको पक्षमा रहेका बताउने कांग्रेस नेतृत्वले भ्रष्टाचारमा आरोपितहरुलाई जोगाउन भन्दै सडकदेखि सदनसम्ममा रडाको मच्चाएर जग हँसाउनुले आफैलाई लज्जित मात्र तुल्याउने छ । कांग्रेसले जति बोके पनि भ्रष्टाचारमा डामिएका खुमबहादुर खड्का, चिरिञ्जीवी वाग्ले, जेपी गुप्ता, गोविन्दराज जोशीलाई जोगाउन सकेन । अहिले विजय गच्छदारको हकमा पनि कांग्रेसको उही गति हुनेछ ।
बरु सत्य के हो भने जे जस्ता तिकडम र छिर्के हानेर आफ्ना नेतालाई नेकपाले अख्तियारको मुखमा पर्नबाट जोगाए पनि जनताको अघिल्तिर तिनीहरु सबै डोकाले छोपेका कुखुराझै छर्लङ्गै छन् । कांग्रेस भ्रष्टाचार आरोपितलाई कानुनी कठघरामा जँचिन दिएर निर्दोष भए बाइज्जत सफाई पाउने बाटोसमेत रोक्न खोज्दै फेरि आफ्नो खुट्टामा आफू बन्चरो हान्दै छ । अब मूल दायित्वचाहिं अब जनतामा आएको छ । त्यस्ता पार्टी र तिनका नेतालाई चोक, गल्ली र चौतारामा प्रश्न गर्ने सामथ्र्य प्रत्येक नागरिकले गर्न सक्नुपर्छ । होइन भने नागरिकताको प्रमाणपत्र भिरेकै भरमा कोही पनि रैतीको दर्जाबाट माथि उक्लन सक्दैन । दलीय र नेता विशेषको दासताबाट मुक्त हुन नसक्ने हो भने यो देश भ्रष्टाचारको चंगुलबाट न त उम्कन सक्नेछ । न त देशको शासकीय शैली नै फेरिने छ । परिवर्तन भैहालेछ भने रातो टोपी लगाएर लूट्नेहरुको स्थानमा हरियो टोपी लगाएर डकैती गर्नुहरु पुग्नेछन् । आगे नागरिक हुन नसकेका रैतीहरुको आज्ञा।

Facebook Comments

जागरण टिभी

सम्पादकीय

सबै हेनुर्होस

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

आज अन्तर्राष्ट्रिय महिला दिवस, महिला हकहित, सशक्तिकरण, लैंगिक विभेद एवं हिंसा अन्त्य एवं अधिकार प्राप्तीको सवालमा यस दिवसको अवसर पारेर अझ यौटा नयाँ मार्गको साझा

Subodh Regmi २४ फाल्गुन २०७९, बुधबार ०६:०६

विशेष सम्पादकीय – महिलालाई उपप्रमुखको मात्र जिम्मेवारी किन?

Jagaran Post ९ बैशाख २०७९, शुक्रबार २३:१८

बिकास र निकासको संवाहक बनोस – नयाँवर्ष

Jagaran Post १ बैशाख २०७९, बिहीबार ०७:२५

प्रधानमन्त्रीको सम्बोधन – न उत्साह, न नै उत्सुकता !

Jagaran Post ८ माघ २०७८, शनिबार ०८:५५