प्रदेशको नाम र राजधानी छनोट गर्न प्रदेश २ मा गोप्य मतदान सुरू भएको छ।
सर्वसम्मत नभएपछि मतदानबाट नाम र राजधानी तोक्न लागिएको हो। सभामुख सरोजकुमार यादवले प्रदेश सभाका सचिव रन्जित कुमार यादवलाई निर्वाचन अधिकृत तोकेका छन्।
निर्वाचनको परिणाम आजै सभामा बुझाउन सभामुखले अर्को बैठक बोलाएका छन्। नाम र राजधानी तोक्न प्रदेशसभाको दुईतिहाइ मत चाहिन्छ।
प्रदेश सरकारमा सहभागी राजपाले नाम मधेश प्रदेश राख्न र राजधानी जनकपुर राख्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ।
नेपाल कम्युनिष्ट पार्टीले प्रदेशको नाम जानकी राख्न माग गरेको छ। उसले राजधानी जनकपुर नै उचित हुने बताएको छ।
नेपाली कांग्रेसका सांसदले प्रदेशको नाम मिथिला भोजपुरा राख्न माग गरेका छन्।
राजधानी जनकपुर राख्न कांग्रेस सहमत छ। प्रदेशसभामा समाजवादीको ३०, राजपा २५, नेकपा ३२, कांग्रेस १९, नेपाल संघीय समाजवादीका एक सांसद छन्।