रमेश अर्याल
बुटवल : विश्वभर कोरोना भाइरसले आक्रमण गरिरहेको छ । चिन बाट सुरु भएको यो भाइरसको संक्रमण भन्दा पनि भ्रम भाइरसले हाम्रो समाजमा वढि आक्रमण गरिरहेको छ । तर संक्रमण नहोला भन्न सकिन्न । भारत तथा अन्य मुलुकबाट नेपालीहरु नेपाल भित्रिए पछि कोरोना संक्रमण बढेकोले चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन् । नेपाल सरकारले लक डाउन गरेको छ । सरकारको आग्रह र चिकित्सकको सल्लाहलाई स्विकार गर्नु बाहेक अर्को विकल्प हामीसंग छैन । लक डाउन भएपछि सवै मानिसहरु घरमै सिमित भएका छन् । विहानै देखि कामको शिलशिलामा बाहिर निस्कने र राति अवेर घर फर्कने मानिसहरुलाई एकै ठाउँमा लामो समय विताउन पक्कै पनि मुस्किल हुन्छ । तर नआत्तिनुहोस लक डाउनको यो समयलाई यसरी रमाईलो बनाउन सकिन्छ :
१ पुरानो अटो खोज्ने
स्कुल अथवा कलेज लाईफमा यदि तपाईले साथीहरुको सम्झना रुपी अटो बनाउनु भएको थियो भने अहिले खोजेर पढ्दा निकै रमाईलो लाग्न सक्छ । त्यो अटो तपाईको दराजको कुनामा वा कितावहरु राखिएको ठाउँमा हुन सक्छ । अटो खोज्दा समय पनि वित्छ भने पढ्दा पुराना साथिहरुको यादसंगै रमाईला पलहरु ताजा भएर आउँछन । यसले एकै छिन भएपनि हामीलाई कोरोना भाइरसको त्रासबाट टाढा राख्न सहयोग गर्छ । यस्तै लामो समय सम्पर्कमा नरहेका साथीहरुको सम्बन्धलाई नजिक बनाउँछ । अटोमा भएका फोटाहरु र त्यहाँ उल्लेख भएका सायरी र शब्दहरु पढ्दा ओठमा मुस्कान अवश्य पनि आउने छ ।
२ दराज मिलाउने
लक डाउनको कारण घरभित्रै वस्नु पर्दा दिक्क मान्नु भएको छ भने कपडा राखिएको दराज मिलाउदा पनि फ्रेश हुन सकिन्छ । दराज मिलाउँदा आफुसंग कस्तो कपडा रहेछ भन्ने पनि थाहा हुन्छ भने हराएयो भनिएको मन पर्ने कपडा भेटिन सक्छ । महत्वपुर्ण कागज पत्र नागरिता, कलेजका सर्टिफिकेट वा अन्य कागजात भेटिन सक्छन । अन्य समयमा यसरी काम गर्न हामीलाई फुर्सद हुदैन त्यसैले यो समयमा दराज, लो वेड भित्र प्याक गरेर राखिएका कपडा वा ब्याग खोलेर हेरियो भने समान सुरक्षित छ कि छैन भनेर थाहा हुन्छ भने नभेटिएका कुराहरु भेटिन सक्छन । यो काम गर्दा हामी फ्रेश हुन सक्छौं ।
३ घरमा के-के किताव छन खोजौं
किताव पढने बानि छैन भने लक डाउनले तपाईलाई असल पाठक बनाउन सहयोग गर्ने छ । बौद्धिक क्षमताको विकास गर्न अध्ययन गर्नु आवश्यक छ यो त तपाईलाई थाहा भएकै कुरा हो । अहिले बन्द भएको कारण किताव किनेर ल्याउन संभव छैन । त्यसैले आफ्नो घरमा कितावहरु के के छन खोजौं । ति कितावहरुको धुलो सफा गर्दै मिलाएर राखौं । यति गर्दा तपाईलाई मन परेको किताव हातमा पर्न सक्छ । धेरै पहिला पढेको किताव भए पनि अहिले पढ्न मन लाग्न सक्छ । यसरी खोज्दै जादा तपाईका पुराना नोट कपि भेटिन सक्छन । ति कपिहरु हेर्दा तपाई समय वितेको पत्तै हुने छैन भने ति कपिका अक्षरहरुमा आफ्नो विगत पढ्न पाइने छ । धेरै पहिला कथा कविता लेख्ने तपाईको बानि थियो भने ति पनि भेटिन सक्छन । जसलाई अहिले अध्ययन गर्दा ओहो मैले यस्तो कसरी लेखे हुला भन्ने कुरा मनमा आउने छ र फेरि लेख रचना लेख्न प्रेरणा मिल्ने छ ।
४ परिवारका सदस्यसंग खुलेर बोलौ बच्चासंग खेल खेलौं
लक डाउनले परिवारका सदश्यहरु लामो समय सम्म एकै ठाउँ हुने मौका पनि दिएको छ । यो समयमा प्रभावकारी सञ्चार लागु गरियो भने परिवारको धेरै समस्याहरु समाधान हुन सक्छन । यहि समयको सदुपयोग गरि परिवारको उज्वल भविश्यको योजना बनाउन सकिन्छ । यसकारण सवै जना संगै बसेर दुखसुखका मात्र होइन रमाइला कुरा पनि गरौं । हजुरवुवा हुजुरआमा हुनुहुन्छ भने उहाँहरुको जमानाका कुरा हरु सोधौं । कति उमेरमा विवाह भएको थियो ? कसरी भएको थियो ? यस्ता प्रश्नहरुले घरमा रमाइलो वातावरण सिर्जना गर्छ भने बच्चाहरुले उहिलेका कुराहरुबारे जानकारी पाउन सक्छन । यस्तै बच्चाहरुलाई टिभि तथा मोवाइलमा भुलाउनु भन्दा आफु पनि सहभागि भएर लुडो, चेस, रुमाल चोर जस्ता खेलहरु खेल्दा उनिहरुको बोद्धिक क्षमता बढ्न सक्छ । यस्ता खेलहरुमा सवै परिवारका सदस्यहरु सहभागि हुने हो भने बच्चाहरु साच्चिकै खुसी हुने छन् ।
५ आफन्तलाई फोन गरौं
हामी आफ्नो काममा व्यस्त हुदाँ आफन्तहरुलाई विर्सेका हुन सक्छौं । यो समयमा आफन्तहरुको लिष्ट नै तयार गरेर फोन गर्दा सम्बन्ध नविकरण हुन्छ भने समय विताउन कठिन पनि हुदैन । यसमा धेरै खर्च पनि हुदैन टेलिकम र एनसेलले विभिन्न सुविधाहरु दिएका छन् । जन्म थलो, मावली, वुढा मावलि, ससुराली, पुरानो साथि, स्कुल कलेजको साथि, पुरानो सहकर्मी आदिलाई सम्पर्क गर्दा कोरोनाले सताएको दिमागले एकै छिन भए पनि आनन्दित बनाउने छ भने । गाउँमा रहेका वुढापुरानाहरु औधी खुसी हुने छन् ।
६ किचनमा प्रवेश गरौं
तपाईलाई समय विताउन गारो भएको छ भने किचनमा प्रवेश गरि रमाउनु होस । चिया नास्ता, खाना बनाउन आउदैन भने आज मैले बनाउँछु भनेर अघि सर्नु होस यसो गर्दा समय विताउन कठिन हुदैन । यसले घरमा रमाइलो वातावराण सिर्जना गर्छ ।
७ विवाहको भिडियो र पुरानो फोटो एल्वम हेरौ सामिजक सञ्जाललाई सिमित गरौ ।
कोरोनाको त्रासबाट टाढा रहन र सजिलै समय विताउन तपाईको विवाहको भिडियो उपयोगी हुन सक्छ । यदि त्यो भिडियो छैन भने पुरानो फोटो एल्वम हुन सक्छ । पुराना फोटाहरु हेर्दा विगतमा तपाई प्रवेश गर्नु हुने छ भने । भुलेका ठाउँ र मानिसहरु सम्झनामा आउने छन् । प्रत्येक फोटोको बारेमा परिवारका सदस्यहरुलाई बनाउनु होस यसो गर्दा सजिलै समय विताउन सकिन्छ ।
सामाजिक सञ्जालमा सवै राम्रा सुचना र जानकारी हुदैनन । विकाउ शिर्षक राखेका सामाग्रिले गर्दा हाम्रो दिमागले धेरै कुरा सोच्न बाध्य हुन्छ । त्यसैले सामाजिक सञ्जाललाई सहि सदुपयोग गरौं । विश्वसनिय सञ्चार माध्यमका समाचार मात्र हेरैं । आधिकारी सुचना मात्र लिने काम गरियो भने कोरोनाको भ्रमबाट मुक्त हुन सकिन्छ ।
८ योगा गरौं
कोरोनाले फोक्सोमा आक्रमण गर्छ भनेको त हामीले सुनेकौ छौं । त्यसकारण घरमै बसेर योगा गरौं । योगा गर्न आउदैन भने युट्युवमा बाबा रामदेव लगाएतका ब्यक्तिहरुको भिडियोहरु पर्याप्त मात्रामा पाईन्छ । त्यसैले प्रत्येक दिन विहान १ घण्टा शरिरलाई स्वस्थ राख्ने कोशिस गरौं । हिड्डुल गर्न नपाउँदा मोटो पन बढ्न सक्छ । यसले सुगर प्रेशर जस्ता रोगलागेका ब्यक्तिहरुमा झन समस्या पार्न सक्ने भएकोले घरमै योगा जरुरी पनि छ । यदि तपाईलाई यो काम गर्न मन पर्दैन भने पनि यसलाई सुरुवात गर्नुस किनकि यसले तपाईलाई घाटा होइन फाईदा नै दिन्छ ।
९ कस्तो फिल्म हेर्ने ?
यो समय भनेको परिवारका सदस्यहरुसंग विताउने समय हो । यसैले परिवारका सदस्यहरुसंग बसेर पारिवारिक फिल्महरु हेर्दा राम्रो हुन्छ । नेपाली, हिन्दी, अंग्रेजी पारिवारी फिल्म युट्युवमा सर्च गर्नु भयो भने छानाी छानी हेर्न पाउनु हुन्छ । घरमा श्रीमान श्रीमती मात्र हुनुहुन्छ भने माया प्रेमका राम्रा फिल्म हेर्नु भयो भने त्यसले सम्बन्धलाई ताजा र प्रगाढ बनाउन अवश्य सहयोग गर्ने छ ।
१० कोरोना विरुद्ध लड्न तयारी गर्नु होस
कोरोनाले तपाई हाम्रो समाजमा प्रवेश गर्न नपाओस सवै भन्दा पहिला यहि कामना गरौं । तर कामना गरेरमात्र कुनै पनि रोग भाग्दैन । त्यसैले यसबाट बच्न सतर्क चाँही हुनु पर्छ । कोरोना बाट के के गर्ने यो विषयमा स्थानिय, प्रदेश र केन्द्र सरकारले धेरै जानकारी दिएको छ । अनुरोध गरेको छ । ति कुराहरुलाई पुर्णरुपमा पालना गरौं । यति गर्दा कोरोना हामीबाट टाढै रहन सक्छ । सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोना आइहाल्यो भने यसको विरुद्ध लड्न हामी तयार रहनु पर्छ । रोग हो समयमै चिकित्सकको सम्र्पकमा पुग्न सकियो बच्न सकिन्छ भन्ने कुरालाई भुल्नु हुदैन । यसैले आफ्नो वडाको वडा अध्यक्ष वा मेयरको सम्र्पक नम्वर, प्रहरी, अस्पताल र एम्बुलेन्सको नम्वर छैन भने खोजेर राखौं केही समस्या आइहाले तुरुन्त खवर गरौं । केही जानकारी चाहिएमा सम्पर्क गरेर आधिकारी जानकारी लिउँ ।
परिवारका सदस्यको मनोबल उच्च बनाउन तपाई निडर देखिनु आवश्यक छ तर यहाँ नेर यो कुरा पनि भुल्नु हुदैन कि डर भनेको सुरक्षाको हतियार पनि हो । कोरोनाको संक्रमण हुने काम गर्दा हामीले डर मान्नु पर्छ तर सतर्कता भने हाँसी हाँसी अपनाउनु पर्छ । हामी मात्र होइन विश्व भरका मानिसहरु कोरोना विरुद्धमा लडिरहेका छन परि आए म पनि लड्छु भनेर मनलाई दरिलो बनाउनु पर्छ । कोरोना विरुद्धको लडाईमा तपाई एक्लो हुनुहुन्न, तपाई म र हामी सबै संगै छौं । सरकार हाम्रो साथमा छ तर कोरोनाबाट बच्ने कि नबच्ने तपाईको हातमा छ । त्यसैले कोरोनाको संक्रमण रोकथामको लागि सरकारले लागु गरेका नियम र अनुरोधलाई लागु गरौं । जे पर्ला सहुला । मनपरेको खण्डमा यि १० कुरा लागु गर्नु होला ।
लेखक बुटवल एफएम का कार्यक्रम संयोजक तथा नेपाल जेसीजका प्रशिक्षक हुनुहुन्छ ।