आज रातभरि फिटिक्कै निद्रा लागेन। मनमा अनेकन कुराहरु खेलिरहे। मन पुरै बाल्यकालतिर बरालिईरह्यो। सबैभन्दा पहिला त घर तलका बाँसका झाङ्ग सम्झिएँ। झर्लक्क आलू र तामाको तरकारी अनि तामाको अचार खान मन लागेर आयो। कलिला तामा ल्याएर काट्दै गरेका दृष्यले मुख रसाएर आयो। अझ पिरो पिरो बनाएर पकाएको आलु र तामाको तरकारी, त्यसैगरि तामाकै अचारको खुव झल्को आईराख्यो मनभरि।
उकाला, ओरला, तेर्सा गोरेटाबाटोहरु मनभरि दौडिरहे। घरभन्दा अलिक तल खरबारीमा हाम्रा पन्थ भन्ने बुवाको एक्लो घर थियो। सम्झनामा अलिकति धुमिल तस्विर आयो क्यारे ! पश्चिमतर्फ फर्किएको घर, पछाडिपट्टि एकनाले गोठ र गोठमा गाई हुन्थ्यो प्रायश। घरभन्दा अलिक पछाडि यौटा कुवा थियो, त्यहिं कुवाबाट गाईबस्तुलाई मात्र होईन, मान्छेले पनि पानी पिऊने गरिन्थ्यो। अलिक पछि पन्थ बुवाका परिबारहरु केहि माथी गाऊंतिर सर्नुभयो, त्यसपछि हामीले उक्त स्थानलाई `पन्थको घडेरी´ को नामले चिनिन थाल्यो। अलिक पछि उक्त घडेरी हुँदै खत्रीटोलासम्म जोड्ने मूलबाटो खनियो। उक्त मुलबाटोसंगै पानीको मुहान पनि सुक्यो क्यारे, त्यसपछि उक्त स्थानमा पानी देख्न भने पाईएन।
हाम्रो पुरानो घर हुँदा घरको पछाडिबाट कुलो बग्दथ्यो, घरछेवैं पोखरी थियो। पोखरीमाथी बिभिन्नथरि फूलहरु फूलिरहन्थे भने घरको तलमाथी, पछाडि खेतहरु थिए। खेतहरुमा धान, गहुँ मकै, कोदोमात्र होईन, घरपरिवारलाई आवश्यक पर्ने सम्पूर्ण तरकारीहरु उत्पादन हुन्थ्यो। आलु, सेमी, साग, लसुन, प्याज, मुला, काऊलीलगायत सबै उत्पादन अर्गानिक हुन्थ्यो- आज सम्झिंदा पनि मन नै हुरुक्क भएर आऊने भन्या ! के गर्नु, विषादीयुक्त संसारमा बसेर अर्ग्यानिक सम्झना केवल सम्झनामात्र त हुँदारहेछन।
हजुरबुवाले चुरोट पिऊनुहुन्थ्यो। त्यतिखेर ५ रुपियाँमा देउराली भन्ने चुरोट पाईन्थ्यो। तल माझगाऊँको घरमा सानो चुरोट, चिनी, चियापत्तिको पसल थियो। हजुरबुवाले मलाई प्राय: चुरोट लिन पठाईरहनुहुन्थ्यो। मेरो पालो रकेटको गतिभन्दा छिटो दौडिएर हजुरबुवालाई चुरोट ल्याईदिन्थें। त्यतिखेर त्यस्ता उकाला, ओराला, भिराला, खोल्साखोल्सी, भिर पखेरा त बाँदरकै हाराहारी नाघिन्थ्यो। कति बलिया हुन्थे तिघ्रा, खुट्टा। कहिल्ल्यै थकाई भन्ने महसुस नै भएन।
घरमाथी बढेमानको टुनीको रुख थियो। अजंगको ! त्यसमा अरिंगालले प्राय: गोलो लगाऊँथ्यो। त्यसो त घर तलको सालघारीका सालका रुखहरुमा पनि अरिंगालले गोलोहरु लगाएको हुन्थ्यो। साँझ परेपछि कालिजलाई बास बसाल्न र राती परेपछि कालिज र अरिंगालको चक्करमा धेरै समयहरु बिते पनि।
घरभन्दा केहि पर पानी पँधेरो थियो। पानीको ठुलै मूल थियो। जसलाई हामी कालापानी `काल्पानी´ भनेर चिन्दथ्यौं। त्यहिं पानीको मुलसंगै कुवा पनि थियो। बाह्रैमास भरि रहने उक्त कुवाको पानी कति मीठो मीठो ! सायद पानीको मूल वरपर फोहोर नगरियोस या नहोस भनेर कुवाको माथी रुखमा धजा बानेर राखिएको थियो। त्यसैले त्यो कुवावरपर चप्पल लगाएर जानसमेत मान्छे डराऊँदथे। घाँस दाऊरा पनि गर्न पाईंदैनथ्यो र त पानीको मूल सदावहार थियो। सिंगो गाऊँ त्यहिं कुवाको पानीले पालिएको मात्र थिएन- अलिक तल २/३ हल गोरु रोपाईं गर्नपुग्ने पानी बग्दथ्यो पनि। पछि गाऊँमा बिकाश हुन लाग्यो। पानीको मूलमाथीबाट गाऊँको मूल नेताको घरको आँघनसम्म मोटरबाटो पुर्याऊन पानीको मूलको परवाह पनि गरिएन। पानीको मूलमाथीबाटै मोटरबाटो डोजर लगाएर बनाईयो। पानीको मूल पनि सायद पुरियो होला, त्यसबाट यता त्यो कुवा कहिल्ल्यै भरिएन। बल्लतल्ल मसिनो पाईप लगाएर अलिक तलतिर सिमेन्टेड ट्यांकी बनाएर पानी जम्मा गर्न त थालियो, तर ट्यांकीमा पानी राम्रोसंग जम्मा हुन सकेन। ट्यांकी कहिल्ल्यै भरिएन। ट्यांकीमा जम्मा भएको पानीले गाऊँको तिर्खा मेट्न सकेन र आजभोली सुनिंदैछ गाऊँमा पानीको समस्या छ रे ! पानीको मूल मासेर घरसम्म बाटो लैजाने नेताहरु बुटवलतिर बसाईं सरे, गाऊँमा बसेकालाई पानीको समस्या परेको छ आजभोली। उसो त गाऊँमा बस्नेले अझै पनि मूलवरपर बृक्षारोपण गरेर मूलको संरक्षण गरे पानी अझै पनि पलाऊँथ्यो होला- तर जाँगर फेरि कसैमा छैन।
घरमाथी, तल, दायाँ बायाँ जहिंतहि खेतबारीहरु मलिला हुन्थे। चारै सिजनका खेती र तरकारी उत्पादन हुन्थे। कयौं किमि टाढाको खोलाको पानी कुलोमा ल्याईन्थ्यो, खेतबारीमा लगाईन्थ्यो र त भिरपाखाहरु पनि हरिया हुन्थे बाह्रैमास। खेतका ढिस्का, कान्लाहरुमा अनेकथरि फलफूलहरु मौलाऊँदथें, फुल्दथे, फक्रेका हुन्थे। घाँसपातहरु बाह्रैमास हरिया हुन्थे। न अन्नपानीको दुख हुन्थ्यो, न नै घाँसपातको। दुख गरे धर्तीबाट मनग्ये प्रतिफल पनि प्राप्त हुन्थ्यो।
आजभोली त खेतबारीका कान्ला, ढिस्काहरुमा भएका सबै फलफूलका बोटहरु पनि सुकेर गएका छन। नसुकेका पहेंलिएका छन। घाँसपात डाला, स्याऊलापातहरु पलाऊनै छोडेका छन। खेतबारीहरुको हरिविजोग छ। त्यो उर्वर र हराभरा गाऊँ खण्डहरजस्तै बनेका छन- उजाड।
कयौं किमि पर खोलाबाट आऊने पानी पनि आजकल आऊन छोडेको छ। कुलाहरु नासिदै र मासिदै गएका छन। पहिला बिकाश भन्ने कुन चराको नाम हो भनिन्थ्यो र गाऊँ हराभरा थियो। अहिले गाऊँगाऊँमा बिकाश भएको छ- बस्ती उजाड हुँदै गएको छ। यहाँसम्म कि हाम्रो घरको ढोकाअंघाढिबाट कलकल बग्ने कुलोको ठाऊँमा अहिले कुलो मासिएर मोटरबाटो बनेको छ। भान्छामा गाडी जाने भएको छ, तर घर भने प्राय रित्तो छ।
घरभन्दा केहि पर झर्ल्याङ्ग्दी भन्ने जंगल थियो। झर्ल्याङ्गदिमा पानीको ठूलो मुहान थियो। लगभग निमुवाखर्कको फाँटमा त्यहिं पानीले सिंचाईं गर्न पुग्दथ्यो। झर्ल्याङ्गदिको पानी साह्रै चिसो र मीठो पनि ! प्राय: गाऊँलेहरु शनिवारको दिन पारेर त्यहिं नुहाऊन धुन जान्थे। रमाईलो हुन्थ्यो। आगो बाल्दै ताप्दै नुहाऊँदै गर्नुको मजा पनि बेग्लै ! पछि उक्त मुहानको अलिक माथीबाट गाऊँमा मोटरबाटो आयो। पानीको मुहान सुक्तै गयो। माथी खेतहरुमा रोपाईं पनि हुन छोड्यो। आजभोली उक्त मुहानको पानी मुस्किलले निमुवाखर्कको फाँटसम्म पुग्छ।
निमुवाखर्कको पछाडिपट्टि यौटा ठाडो खोला थियो। खोलाको छेऊँछाऊँमा पानीका मुहानहरु थिए। थोरै तल पानीको कुवा नै थियो। बिचमा एकपटक ठूलो पहिरो गयो र कुवा मासिएको थियो। पछि खोतलखातल गरेर मूल त भेटियो, तर पहिलाजस्तो पानी आऊन सकेन। अझ आजकल त त्यहिं मुहानको माथीबाट मोटरबाटो गएको छ- भएको पानी पनि सुकिसकेको छ रे।
बिकाश आवश्यक त हो- तर बैज्ञानिक र दूरदर्शी बिकाश नहुँदा यस्ता धेरै प्राकृतिक स्रोतहरुको विलय हुन पुगेको छ। पहाडतिर जथाभावी र जवर्जस्ती मोटरबाटो लहडले पानीका अधिकांश मुहानहरु सुकेर गएका छन। मान्छेहरु बसाईसराई गरेर शहरतिर आऊँदा गाऊँहरु भने सुनसान बन्दैछन। पुराना बाटोघाटोहरुको निशानी हराएको छ, मौलिकता हराएको छ, संस्कृति र संस्कार गुमेको छ।
टुनिगैरा भन्ने ठाऊँमा हरेक शिवरात्रीको दिन रातभरि भजनकिर्तन हुन्थ्यो। सारा गाऊँ जम्मा हुन्थे। रातभरि भजनकिर्तनसंगै नाचगान, भेटघाट आत्मियता साटासाट खुवै रमाईलो हुन्थ्यो। त्यहाँ यौटा पानीको ठूलो मुहान थियो। थोरै तल पानीको धारा बनाईएको थियो। ५/६ हल मेलोको लागि उक्त पानी पर्याप्त थियो। आजकल मुहानमाथीबाट मोटरबाटो गएको छ- मुहानमा पानी फिटिक्कै छैन।
जुरेढुंगामा पनि शिवरात्रीमा रातभर भजनकिर्तन हुन्थ्यो। गाऊँभरिका जम्मा हुन्थे। जुरेढुंगामा आऊने पानी सायद ठुलोखोलाको थियो होला- चिसो अनि मीठो। पानीको ठुलै धारो थियो। सुनिन्छ आजकल ठुलोखोलामा पनि पानीको मुहान सुकेर पानी फिटिक्कै छैन रे, किनकि ठुलोखोलाको पानीको मुहानमाथीबाट रिमुवाको लागि मोटरबाटो गएको छ।
लक्ष्मी प्राथमिक विद्यालय माझगाऊँको छेवैंमा पानीको ठूलो मुहान थियो। मुहानमाथीबाट आजकल मोटरबाटो झरेको छ, पानीको मुहान सुक्दै गएको छ।
बाँसखर्कको लागि बाँसखर्क खोलामा पानीको ठूलो मुहान थियो। त्यहिं खोलाको अलिक तलको मुहानबाट हाम्रो घरसम्म पानीको पाईप आऊँछ। आजभोली हाम्रो पानीको मुहानमाथीबाट मोटरबाटो गएको छ- पानीको मुहान सुकिसकेको छ भने बाँसखर्क खोलाको पानीको मुहान पनि सिमेन्टेड ट्यांकी बनाएयता संकटमा छ- पहिलाजति पानी छैन उक्त मुहानमा।
अब यसो बिचार गरौं त- जब बस्ती पूर्ण थियो, तब बिकाश भन्ने कुराको अनुभव गाऊँले कहिल्ल्यै गर्न पाएन। जब गाऊँ गाऊँमा बिकाशको बाढि आयो, तवसम्म गाऊँ रित्तिईसकेको छ। बंचेखुचेका पनि ताल परे शहर छिर्ने दाऊमा छन।
अर्कोतर्फ बिकाशले बिनाश पनि बोकेर ल्यायो। पहाडमा जथाभावी डोजर चलाऊँदा अधिकांश जमिनहरु भत्किएर गएका छन। पानीका मुलहरु नासिएर गएका छन, बस्तीहरु जोखिममा परेका छन, खेतबारी, कुलो कुलेसोहरु मासिएर गएका छन, रुखजंगल मासिएर गएका छन।
यति हुँदाहुँदै पनि गाऊँ गाऊँमा अहिले भैराखेको अद्भूत बिकाशसंगै सरकारले नितिगतरुपमैं बस्तीहरु गाऊँकेन्द्रित गर्नको लागि प्रेरणादायी निति अवलम्वन गर्नसके उजाडिएका गाऊँहरु पुनश्च: सदावहार बनाऊन सकिन्थ्यो कि?
फेरिपनि बाँसको झाङ्गमा गएर कलिलो तामाको टुसा परक्क निमोठेर ल्याएर आफ्नै खेतबारीमा उत्पादन भएको आलुसंग मिसाई आलु तामाको तरकारीसंग धित मरुन्जेल २/४ छाक खान सकिन्थ्यो कि कसो त?
क्रमश…….