राजविराज : सप्तरीका दुई जना पुरुषमा र्यापिड डायग्नोस्टिक टेस्ट ‘आरडीटी’ गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भारतको दिल्लीमा भएको धार्मिक सभामा सहभागि भएपछि घरमै बस्दै आएका दुई जनाको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘आरडीटी’ गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।
पोजेटिभ रिपोर्ट आउनेमा खडग नगरपालिकाका १ र तिलाठी कोइलाडी गाँउपालिकाका एकजना रहेका छन । अस्पतालले खडग नगरपालिकाका तीन जना, तिलाठी कोइलाडी, अग्निसाइर कृष्णासवरन, राजविराज र सुरुंगा नगरपालिकाका एक–एक जना गरी सात जनाको परीक्षण गरेको थियो ।
ति मध्ये दुईजनामा संक्रमण पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको छ । कोरोना संक्रमण भए नभएको पुष्टि गर्नका लागि दुबैको स्वाब धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पठाइएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट चुमनलाल दासले जानकारी दिए ।
उनीहरु सबै दिल्लीवाट फर्केपछि घरमै बसिरहेका थिए । यस्तै, सप्तरीको डिमनस्थित मदरसामा ११ जना भारतीयहरु बसिरहेको भेटिएको छ । उनीहरुलाई प्रशासनले त्यही क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । साथै उनीहरुको पनि ‘आरडीटी’ टेष्ट गर्ने तयारी गरिएको छ ।