यो मधुस (सन्धुक) को कहानी पनि धेरै लामो छ हेर्नुस। हाम्री हजुरआमाभन्दा पहिला हजुरआमाकी पनि सासू हामीले (बुवै) भन्थ्यौं। उहाँले प्रयोगमा ल्याउनुहुन्थ्यो त्यतिबेला, जतिबेला हामी एकदमै सानै थियौं। बुवैको अनुहार अब लगभग लगभग धुमिल नै हुँदै गएको छ, तर यो मधुस अझै पनि हाम्रो घरको बुईगलमा थन्किएर रहेको छ। बुवैको शेखपछि हजुरआमाको स्वामित्वमा आएको यससंग जोडिएको कहानी पनि निकै रोचक छ।
एकपटक हजुरआमाले दाऊरा चिर्न पठाऊनुभएको थियो। घरमा भात पाकिसकेर खानेबेलामा दाऊरा चिर्न जा भन्दा कसलाई रिस उठ्दैन ल भन्नुस त त्यो पनि जाडो मौसममा? रिसले रनक्क रन्किएर बन्चरो त समातें, तर कता जाने कहाँको दाऊरा चिर्ने केहि मेसो नै पाएको थिएन। रिसले चुर भएको थिएँ, बन्चरो बोकेर आँटीतिर लागें। जहाँ हजुरआमाको मधुस थियो। रिसको आवेगमा आज यहिं मधुसलाई नै दाऊरै दाऊरा बनाईदिन्छु भनेर बन्चरो के उठाएको थिएँ, हजुरआमा पछि पछि आऊनुभएको रहेछ। परैबाट “पख्लास, त्याँ फुटाल त मधुस?” भनेर हकार्नुभयो र बन्चरो खोसेर राख्नुभयो। मनमनै के के गाली गर्दै गएर बन्चरो लुकाऊनुभयो। मलाई अरु के चाहिएको थियो- अल्छी र रिस लागेको बेलामा बन्चरो नै लुकाईदिएपछि खेल नै खत्तम ! तल भान्सामा आएर दूईवटा गोजाभरि भुटेका मकै राखेर गएँ गाऊँतिर।
हाम्री हजुरआमा फेरि साह्रै सोझी। मधुसभरि `सम्पत्ति´ राखेर मधुसमा बढेमानको ताला लगाएर चाँवी फेरि मधुसमुनी नै लुकाएर राख्ने। हजुरआमाले मधुसको चाँवी कहाँ राख्नुहुन्छ भन्ने त हामीलाई थाहा नहुने कुरै भएन। मधुसभित्र हजुरआमाको `सम्पत्ति´, मधुसमुनी चाँवी। अब त्यसपछि के के हुन्थ्यो होला? आफै अनुमान लगाऊनुहोस।
बिहेपछि बुहारीको माईत केरा कुराऊनी पठाऊने चलन हुन्थ्यो हाम्रोतिर। हाम्रोमा पनि कान्छा काकाको बिहेपछि गाऊँभरिबाट दूध उठाएर २/३ पाथी जति कुराऊनी बनाईएको थियो। घरकै खेत र बारीमा फलेका ठुला ठुला फुस्रे केरा, कुराऊनी, सेलरोटीलगायत विभिन्न परिकारहरु तयार गरेर काकाको ससुरालतिर पठाईएको थियो। तर दुर्भाग्य नै भन्नुपर्छ, काकाको ससुरालीतिर केहि दुखद घटना घटेछ र केरा कुराऊनी बाटैबाट फिर्ता आयो। अब, ३/३ पाथी कुराऊनी, केरा, रोटीहरु घरमा कता राख्ने? के गर्ने भन्ने पनि भयो। अलिकति त गाऊँमा सबैलाई बाँडिदिएको सम्झना आऊँछ, बांकी कता सम्हाल्ने? हजुरआमालाई पो पर्यो फसाद त !
हजुरआमाले अलिकति केरा, कुराऊनी आफू सुत्ने बैठक कोठाको खाटमुनी सुटुक्क लुकाएर राख्नुभएको थियो र अलिकति मधुसभित्र लुकाएर राख्नुभएको चाहिँ हामीले देखेका थियौं। हजुरआमा ढुक्क हुनुहुन्थ्यो कि ति केरा कुराऊनी लुकाएको केटाकेटीले देखेका छैनन भनेर।
बैठक कोठीको मूलझ्यालसहित सबै झ्याल गर्लम्म लगाऊनुभयो, कोठामा पस्ने ढोकामा कहिल्ल्यै ताला नलगाऊने हजुरआमाले ढोकामा पनि ताल्चा ठोकिदिनुभयो। मधुसमा ताल्चा त प्राय: लगाऊनुहुन्थ्यो, तर कहिलेकाहिं बिर्सिनुहुन्थ्यो। त्यसदिन मधुसमा पनि बढेमानको ताल्चा ठोक्नुभयो र चाँवी राख्ने स्थान बदल्नुभयो। चाँवी राख्ने स्थान अब मधुसमुनी बाट सरेर अब माथी पसाढमा लुकाएर राख्नुभयो।
घरमा जब केरा कुराऊनीले घर भरिपूर्ण छ भन्ने थाहा पाएका हामी त्यत्तिकै बस्ने कुरा त भएन। हामीले हजुरआमाको चियोचर्चो गरिरहन्थ्यौं। हामीलाई थाहा थियो, अब हजुरआमाले चाँबी राख्ने स्थान बदल्नुहुन्छ भनेर। त्यसैले म मधुस भएको कोठामा खाटमुनी लुकेर बसिरहेको थिएँ। हजुरआमाले मधुसको चाँबी पसाढमा राखेको पक्का भईसकेपछि हजुरआमा अब घरबाहिर जाने पर्खाईमा थियौं। अब चांबी नै आफ्नै हातमा आईसकेपछि मधुसभित्रका सम्पत्तिको के बिजोग भएहोला ? बैठक कोठाभित्र खाटमुनी लुकाएर राखेको सम्पत्तिको के विजोग भएको होला? आफै अनुमान गर्नुहोस।
यतिमात्र होईन, मधुसभित्रबाट हजुरआमाका सिक्का, नोट मिस्री, गडी (नरिवल), छोडा, घ्यू त कति गायव भए भए तैपनि हजुरआमाले मधुसको चाँबी कहिल्ल्यै आफ्नो साथमा राख्नुभएन। चाँबी राख्ने स्थान त बदल्नुहुन्थ्यो, तर हामी जासुसले किन नभेट्नु र?
उपद्रो गर्नमा म माहिर थिएँ। मसंगैका दाइ बिकाश र दिदी अमृता पनि थिए। अमृता छोरी मान्छे हुनाले त्यस्ता हर्कत गर्ने कुरा भएन। दाइ अलिक सोझो नै थियो। तैपनि चोरी गरम या यसो उसो गरम भनेपछि नाई भन्दैनथ्यो। साथ चाहिँ दिन्थ्यो, आफै अंघाढि सर्दैनथ्यो। अंघि सर्ने मैं हुन्थें।
धेरै पछि पुरानो घर भत्काएर नयाँ घर बनाऊने भईयो। घरका सबै सामान कटेरोमा सारियो। हजुरआमाको मधुस पनि कटेरोको तलामा छेवैंतिर रहने भयो। हामीलाई अरुभन्दा पनि सबैभन्दा बढि महत्वपूर्ण भनेको त्यहिं हजुरआमाको मधुस नै थियो। कटेरोको आधा भाग तल माथी नै बारेर तल खाना बनाऊने, माथी गएर सुत्ने भईयो। हजुरआमाको मधुस छेवैंतिर थियो। घर बनाऊन भनेर बाहरुले लाहुरबाट पठाएको ३ लाख रुपियाँ हजुरआमाको मधुसमा छन भन्नेकुरा हाम्रो गुप्तचर संयन्त्रले पत्ता लगाईहाल्यो। मधुसको चांबी चाहिँ सधैझैं हजुरआमाले कहिले मधुसमुनी लुकाऊने, कहिले छानोको भाटाभित्र लुकाएर राख्ने। हजुरआमाले छानोको कहाँनेर चाँबी लुकाएर राख्नुहुन्थ्यो भन्ने हामीलाई तत्कालै थाहा हुन्थ्यो, किनकी चाँबी घुसारेको भागमा थोरै निशानी देखिन्थ्यो। त्यत्रो पैसा मधुसमा राखेर पनि चाँबी मधुसमुनी या छानोमा घुसार्ने हाम्री हजुरआमा कति सोझी? अहिले आएर यसो सम्झिंदा पनि अचम्म लाग्छ।
एकपटक यस्तै सांझको सात या आठ त्यस्तै बजेको हुँदो हो। सबैजना खाना बनाऊन र खान भनेर तलतिर जम्मा भएका थिए। हाम्रो पालो दाइ भान्सा अंघाढि आँघनको डिलमा उँभिने र मैले अप्रेशनको जिम्मा लिने सहमति भएको थियो। सल्लाहअनुसार दाईले आँघनको डिलमा उंभिएर परिवारका अन्य सदस्यहरुको निगरानी राख्ने। कथं अप्रेशनको दौरान कोहि भान्साबाट निस्किए दाइ ख्वांक्क खोंक्ने र त्यो संकेत मैले बुझ्ने भन्ने थियो भने काम फत्ते भएपछि म खोंक्ने सहमति भएको थियो।
सहमतिअनुसार त्यसदिन दाई आँघनको डिलमा उँभियो, मैले रेडियोमा बिबिसी सुन्ने बाहानामा रेडियो लिएर आँघनतिर भौतारिएँ। त्यतिखेर हामीलाई रेडियो नेपालबाट प्रसारण हुने सांसद फोनिन कार्यक्रम, समाचार, घटना र बिचार, बिबीसीलगायतका कार्यक्रम सुन्ने बानी हजुरबुवाको संगतले गर्दा लागेको थियो। किनकी हजुरबुवाले सदैव यि कार्यक्रमहरु नछुटाईकन सुन्नुहुन्थ्यो। तर, दु:खद नै भन्नुपर्छ, हाम्रो हजुरबुवाले पुरानो घरमैं आफ्नो ईहलिला त्याग्नुभएको थियो।
रेडियोको आवाज बिस्तारै बिस्तारै मधुरो बनाऊँदै लगें। दाइ डिलमा बसेर यताउती चनाखो भै हेरिरहेको थियो। म बिस्तारै हजुरआमाको मधुसतिर बढ्दै थिएँ। रेडियोलाई फिटिक्कै बन्द गरिदिएँ। त्यसदिन दिऊँसो कर्मीहरुलाई पैसा दिन भन्दै हजुरआमाले मधुस खोलेर पैसा निकाल्नुभएको र चाँवी मधुसमुनी नै लुकाएर राखेको हामीले देखेका थियौं। त्यसैले चाँवी खोज्न धेरै कष्ट गर्नु नै परेन। मधुस खोलें, हातमा ५ वटा नोठ आए। अंध्यारोमा कतिका नोठ आए पत्तै भएन। पैसा निकालीसकेपछि मधुस बन्द गरिदिएँ र चाँवी मधुसमुनी नै राखिदिएर गोठको पल्लाछेऊँ गएर यसो उज्यालोमा हेर्छु भनेको त हजार हजारका पाँचवटा नोठ पो निस्किएछन त !
मेरो हंशले ठाऊँ छोड्यो। मन आत्तियो। किनकि त्यतिखेर हामीलाई हजार हजारका नोठ भनेको भयंकर लाग्थ्यो। सोंचेका थियौ- ५ सय जति निकालौं र रिमुवा नवराजकोमा उधारो खाएको पैसा तिरौं अनि खैरेनी गएर यौटा बल किनौं।
पाँच सयको ठाऊँमा ५ हजार निस्किंदा हदै डर लागेर आयो। हतार हतारमा आत्तिंदै २ हजार हजुरआमाको मधुसको प्वालबाट घुसारिदिएँ, बाँकी तीन हजार छानोमा घुसारिदिएँ अनि म ख्वांक्क खोकें। दाईले बुझ्यो काम फत्ते भयो भनेर। पछि बिजय भन्दै बोलायो। मेरो पालो रेडियो घन्काऊँदै आँघनमा आएँ। दाईले सोध्यो- भयो? मैले भने अँ भयो। कति निकालिस त? मैले भनें भोलि भनम्ला। त्यसपछि हामी दुबै खाना खान भान्समा गयौं, खाना खायौं र सुत्यौं।
रातभरि डर लागीरह्यो। भोलि के हुने हो, त्यत्तिका पैसा, घरकाले थाहा पाए भने के हालत हुने हो भन्दै सोंचमग्न भएँ रातभरि। रात गयो, उज्यालो भयो। झनपछि झन डर लाग्दै गयो। हजुरआमाबाट टाढा रहन थालियो। कसैले बिजय भनेर बोलाए पनि ज्यान सिरिङ्ग हुन्थ्यो। शरीर चिढ चिढ भएको थियो।
धन्य, मधुसबाट पैसा निकालिएको भन्नेकुरा हजुरआमाले नै पत्ता पाऊनुभएन। हजुरआमाले मधुस खोल्दा टाढैबाट हेरेझैं गर्यौं। दूईवटा नोठ माथीबाट खसालिदिएको हजुरआमाले देख्नु त भयो, तर मनमनै गम्नुभयो- मैले त पैसा यसरि राखेकी हुँ, कासरि छिरलियो त? हजुरआमाले मधुस बन्द गर्नुभयो, बल्ल ढुक्कको श्वास फेरियो।
हजुरआमाको त्यो मधुसबाट त्यसरि निकालेको पैसा हाम्रोलागी धेरै थियो। रिमुवा नवराजकोमा उधारो खाएक पैसा तिरियो, बल किनियो, बलमा हावा भर्ने पम्प किनियो र बँचेको पैसा आधा आधा बांढियो। खल्तीमा पैसा भएपछि घरको खाना मीठो लाग्न छोड्यो। स्कुल जाँदा नखाईकन जान थालियो। रिमुवा गएर नै नवराज दाईकोमा अण्डा र चाऊचाऊ बनाऊन लगाएर खान थालियो। समोसा, जेरीहरु खान थालियो- पैसा एकहप्तामैं सिद्धियो। पैसा सिद्धिएपछि फेरि घरकै खाना मीठो लाग्न थाल्यो।
हजुरआमाको मधुसको कहानी नयाँ घर बनेसंगै ओझेलमा पर्न थाल्यो। नयाँ घरमा सरिसकेपछि हजुरआमाको मधुसले पनि बिस्तारै महत्व पाऊन छोड्दै गयो। अलिक पछिसम्म त हजुरआमाले घ्यू, चीनीहरु राख्नेसम्म त गर्नुभाथ्यो, पछि त्यहिं मधुस घाँडो हुँदै गयो र आजकल बुईंगलमा गएर थन्किएको छ यो मधुस।
यसरि दाऊरा बन्नबाट बंचेको यो मधुसले धेरै खजांचीहरु सुरक्षित पनि राख्यो, असुरक्षित पनि बनायो। तैपनि आजभोली यस्ता प्राचीन जिनिसहरु देख्दा पुराना दिनहरुको स्मृति मानशपटलमा ताजा भएर आऊंदछन।
यो पनि पढ्नुहोस- बस्ती उठे, पानीका मूल सुके, अनिमात्र बिकाशको बाढि आयो